पर्यटक बसमा किन गर्न खोजिदैछ कडाइ ?


काठमाडौं । आन्तरिक होस् वा बाह्य पर्यटक, अचेल सबैका रोजाइमा पर्यटक–बस नै पर्ने गर्दछ । यात्रा गर्दा आरामदायी सुविधा र सुरक्षाको समेत अनुभूति गर्न पाउने भएका हुँदा देशका आकर्षक पर्यटनस्थल पोखरा जान होस् वा सौराहा जान नै किन नहोस्, पर्यटकहरुले पर्यटक–बसलाई नै रोज्ने गरेका छन् ।

तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने पर्यटक–बसले गैरपर्यटक बोक्ने गरेको आशंका गर्दै कडा नियम ल्याउन लागेपछि भने अहिले मन्त्रालय र पर्यटन व्यवसायीहरुबीच जुहारी चल्न थालेको छ । मन्त्रालयले ल्याउन लागेको नयाँ नीतिप्रति असहमति जनाउँदै व्यवसायीहरुले उक्त नीति लागु भएको खण्डमा सिंगो पर्यटन क्षेत्रलाई नै असर पुग्ने बताउन थालेका छन् ।

अहिले मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आन्तरिक तथा बाह्य पर्यटक बोक्ने यातायात साधनले गैरपर्यटक बोकेमा ६ महिनासम्म चालकको लाइसेन्स र सवारी दर्ता निलम्बन गर्ने नयाँ नीति ल्याउने तयारी गरेको छ । सवारी दूर्घटना बढेपछि कडाइ गर्ने क्रममा सरकारले त्यस्तो नीति ल्याउन लागेको हो ।

पर्यटन क्षेत्रलाई असरै–असर
मन्त्रालयले त्यस्तो नीति ल्याए आन्तरिक पर्यटकहरुको भ्रमण अवरुद्ध हुने र त्यसले सिंगो पर्यटन क्षेत्रलाई नै प्रभाव पार्ने बताइन थालिएको छ । टेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले पर्यटक को हुन् र को होइनन् भन्ने कुराको छिनोफानो हुनुपर्ने बताए । उनले भने, राज्यले नै यी–यी पर्यटक हुन् र यी–यी होइनन् भनेर टुंगो लगाउनुपयो । के नेपालीहरु चाहिँ पर्यटक होइनन् ? यदि सरकारले नेपालीहरुलाई पर्यटक मान्दैन भने कसरी आन्तरिक पर्यटनको विकास हुनसक्छ ?

सरकारले ल्याउन लागेको नयाँ नीतिसँगै व्यवसायीहरु त झनै मारमा पर्ने देखिएको छ । अहिले नीलो प्लेटका करिब ३ हजारजति सवारी साधनले पर्यटकलाई सेवा दिइरहेका छन् भने मुस्ताङलगायतका जिल्लामा चल्ने करिब १५ हजारजति रातो प्लेटका साधनले पनि पर्यटकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । रिजाल भन्छन्, सरकारले त्यस्तो नीति ल्याए भने धेरै व्यवसायीहरु प्रभावित हुने देखिन्छन् । खासगरी, बैंकबाट ऋण लिएर यातायात सेवा सञ्चालन गरिरहेका व्यवसायीहरु प्रभावित हुने देखिएको छ । उनीहरुलाई समयमै बैंकको किस्ता तिर्ने समस्या उत्पन्न हुने देखिन्छ । यसले अराजकता मात्रै निम्त्याउँछ ।

सिन्डिकेटवालाको करामत
अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक सिन्डिकेटवालाहरुको प्रभावमा परेर त्यस्तो निर्णय ल्याउन बाध्य भएको आशंका गर्न थालिएको छ । एक जना व्यवसायीले भने, सिन्डिकेटवालाहरुकै कारण पर्यटक बसमाथि कडाइ गर्न लागिएको हो । पर्यटक बसतिर आन्तरिक पर्यटकहरु आकर्षित भएपछि यसलाई रोक्न कडा नीति ल्याउन लागिएको हो ।

पछिल्लो समय दूर्घटनामा तीव्रता आएपछि कतिपय आन्तरिक पर्यटकहरु सुरक्षाका कारण पनि पर्यटक बस चढ्न थालेका छन् । पर्यटक बसले सुरक्षित रुपमा समयमै गन्तव्यसम्म पु¥याउने भएको हुँदा पनि आन्तरिक पर्यटकहरु त्यतातिर आकर्षित भएको बताइन्छ ।

नीति नआउँदै हल्लाखल्ला
यातायात क्षेत्रलाई व्यवस्थित गर्न विभागले केही कडा नीति ल्याउन आन्तरिक गृहकार्य गरिरहेको छ । तर, पर्यटक व्यवसायीहरुले भने नीति नआउँदै विरोध जनाउन थालिसकेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले विज्ञप्ति नै निकालेर विरोध जनाउन सुरु गरिसकेका छन् ।

मन्त्रालयका प्रवक्ता धु्रवराज जोशीले पनि यातायात व्यवस्था नियमावलीमा समय सापेक्ष संशोधन गर्न लागेको बताए । उनले भने, पछिल्लो समय दूर्घटना बढेको हुँदा दूर्घटना न्युनिकरण गर्न नियमावलीमा केही संशोधन र परिमार्जन हुन लागेको छ । अहिले विभागले आन्तरिक रुपमा गृहकार्य गरिरहेको छ । तर, नियमावली नआई केही भन्न सकिने अवस्था छैन ।

तर, पर्यटक बसलाई कडाइ गर्नेसम्बन्धी नीति ल्याउनुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि समन्वय गर्नुपर्नेमा व्यवसायीहरुको मत रहेको छ । यातायात र पर्यटन मन्त्रालयबीचको समन्वय र सल्लाहअनुरुप नीति ल्याउन उपयुक्त हुने व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्