पशुपतीमा १० हजार तुलसीका बिरुवा रोपियो


काठमाडौ, ९ साउन । हरिशयनी एकादशीको अवसरमा पुडासैनी मैत्री समाजले पशुपती क्षेत्रमा १० हजार तुलसीका बिरुवा रोपेको छ । बिग्रँदो बातावरण सुधारमा थोरैमात्र भएपनि योगदान गर्ने उदेश्य सहित पुडासैनी मैत्री समाजले वाग्मती किनारमा हजारौं तुलसी रोपेको छ । यसअघि यो समाजले रोपेको तुलसी शहिद गंगालाल मुटु अस्पताल परिषरमा समेत समाजकै सकृयतामा रोपिएका बिरुवाहरु लहलहाउँदा भएका छन । देशका बिभिन्न धार्मिक तथा सामाजीक स्थलहरुमा समेत तुलसीका बिरुवा रोप्न प्रेरित गर्दै आएको पुडासैनी मैत्री समाजले यस अघि नै सिंहदरबार परिषर भित्र रहेका प्रत्येक मन्त्रालयमा स्वयंसेवी रुपमा तुलसीका बिरुवा रोप्ने प्रस्तावलाई अघि सारेको छ । बातावरण बचाउँ तुलसी रोप्ने संस्कृतीलाई जोगाउँ भन्ने आग्रहका साथ पशुपती क्षेत्रमा निशुल्क रुपमा उपलब्ध गराईएका दश हजार तुलसीका बिरुवालाई पशुपती दर्शनका लागि आएका भक्तजनहरुले अत्यन्तै उत्साहपूर्वक ग्रहण गरेका थिए ।
यसैबीच पुडासैनी मैत्री समाजसंग अन्य हजारौं तुलसीका बिरुवा रहेको र बिरुवा रोप्न चाहने ब्यक्तिलाई निशुल्क रुपमा उपलब्ध गराउने तथा अस्पताल, सार्वजनिक स्थल, बिद्यालय, कलेज, सरकारी कार्यालय धार्मिक स्थल लगायतका ठाउँहरुबाट आग्रह आएमा निशुल्क रुपमा बिरुवा उपलब्ध गराउने र तुलसीको बृक्ष रोपण गरिदिने पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्