पहाड र मधेसका नाममा ध्रुवीकरण बढेकोप्रति दुवईमा प्रचण्डको चिन्ता


३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् । तराई–मधेस केन्द्रित केही दलले आवश्यक परे पहाडबाट तराई नै अलग गर्नेसम्मको धम्की दिइरहेका बेला प्रचण्डले आइतबार दुबईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा पनि जोड दिए । ‘हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो,’ उनले भने, ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन । मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् ।’

उनले मधेस बिनाको काठमाडौंको कल्पना पनि गर्न नसकिने भन्दै सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको दाबी गरे । सरकारको चासो आर्थिक समृद्धि र विप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको उनको भनाइ थियो ।

उनले प्रवासीहरुको पसिनाबाट आर्जेको विप्रेषणको दुरुपयोग हुन नदिने गरी सरकारले प्रक्रिया अघि बढाएको समेत बताए । ‘कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु,’ उनले भने ‘आज साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिल्यो । संसारका सबैभन्दा ठूला र अग्ला टावरहरु हेरियो । यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ । यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’

प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्रीले नेपाली व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए । । अन्तरक्रियामा प्रधानमन्त्रीले भने– ‘तपाईहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छौं । त्यसका लागि मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौं । तपाईँहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।’ उनले अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कारवाही गर्ने, दुवईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिटै निर्णय लिने पनि आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्