पहिरोमा पुरिएर छ जना बेपत्ता


२१ असार । उत्तरी गोरखाको केरौँजा गाविस–३ छलिम्पुमा मंगलबार पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका हुन् ।

सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन । ‘काठमाडौँबाट हेलिकप्टर मगाएका छौँ, अनि मात्रै त्यहाँको अवस्थाबारे थाहा हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।
पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् । घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्