पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई स्मृति दिवसमा यसरी सम्झिदै


काठमाडौ, १३ वैशाख । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्थे । २०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका मनमोहन अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए । अधिकारीको १३ बैशाख २०५६ सालमा निधन भएको थियो । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो । विसं २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बने । २००३ सालमा विराटनगरको जुट मिलमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उजले १७ वर्ष जेल जीवन बिताएका थिए ।
यसै क्रममा शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले स्वर्गीय अधिकारीको शालिकमा माल्यपर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्