पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर २०७३ सम्पन्न


१४ चैत । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहट जिल्लाको गौरमा ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर २०७३’ एक कार्यक्रम सम्पन्न भएको छ ।

चैत ८ बाट सुरु सो शिविरमा सुलभ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा, पिछडिएका विपन्नवर्ग र विशेष गरी महिला वर्गलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको थियो । साताव्यापी लामो शिविरमा ३ हजार ५७ महिला र ३ हजार ३ सय ९०पुरुषले सेवा लिएका थिए । पाठेघर खस्ने, पित्त थैलीको पत्थरी, हाईड्रोसिल, हर्नियालगायतका १ सय ३७ जनाको शल्यक्रिया गरिएको थियो ।

उक्त स्वास्थ्य शिविर सञ्चालनमा स्वास्थ्य मन्त्रालयबाट १८ जना चिकित्सक र २० जना परिचारिका गरी जम्मा ३८ जना र नेपाली सेनाको मोबाईल अस्पतालसहित सैनिक चिकित्सक, परिचारिका तथा अन्य प्राविधिक गरी १ सय ५ जना खटिएका थिए ।

यस किसिमको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुका साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरिक—सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्