पहिलो संविधान दिवसमा यस्तो छ शीतल निवासमा साँझको तयारी


३ असोज । पहिलो संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष रात्रिभोज आयोजना गरेकी छन् । साँझ छ बजे आयोजना हुने रात्रिभोजका लागि सबै तयारी पूरा भएको छ ।

स्रोतका अनुसार, यो रात्रिभोज विदेशी कुटनीतिक नियोगका प्रमुखहरुका लागि आयोजना गरिएको हो । दम्पत्तिसहित आउन गरिएको आमन्त्रण स्वीकार गरी नेपालस्थित सबै विदेशी कुटनीतिक नियोगका प्रमुखहरुले निमन्त्रणा स्वीकार गरेका छन् । साथै, दिल्लीबाट नेपाललाई हेर्ने केही कुटनीतिज्ञले पनि नेपालको संविधान दिवसका अवसरमा राष्ट्पतिबाट आयोजना हुने रात्रिभोजमा निमन्त्रणा पाएकोमा खुसी व्यक्त गर्दै आउने खबर पठाएका छन् ।

शीतल निवास स्रोतका अनुसार, विदेशी कुटनीतिज्ञका लागि भए पनि नेपालका शीर्ष व्यक्तित्वहरुलाई समेत रात्रिभोजमा आमन्त्रण गरिएको छ । प्रधानमन्त्री उपराष्ट्पति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्ती विदेशमा भएका कारण भोजमा सहभागी हुने छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली भोजमा आमन्त्रित छन् । त्यसैगरी, पूर्वसभामुख दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र सुवास नेम्वांगलाई पनि निमन्त्रणा छ । पूर्वप्रधानन्यायाधीशहरुलाई पनि निम्त्याइएको छ । उपपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीसम्म भोजमा आमन्त्रित छन् ।

उक्त भोजको व्यवस्थापन कार्की ब्यांक्वेटले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्