पाँचवटा एकीकृत बस्ती विकास गरिने


काठमाडौ, ६ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि बुधवार वसेको पहिलो बैठकले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत वस्ती स्वीकृत गरेको हो ।

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङ ४० घरधुरी, मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङ ७० घरधुरी, भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथली १० घरधुरी रहनेछन् ।

बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा यसैगरी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहेको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ, जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियर सहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ छन् ।

प्रतिक्रिया दिनुहोस्