पाँच करोड हिनामिना गर्ने पौडेल पक्राउ


२९ कात्तिक । पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ । पौडेलले आफ्नो अधिकार दुरुपयोग गरी संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरी पक्राउ गरेको हो ।

पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको रकम एक करोड ३८ लाख ५० हजार भुक्तानी लिई आफैँले उपभोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । साथै, संस्थाको खाता रहेको ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक–पटक गरी दुई करोड ५३ लाख लगेकोमा सो समेत बैंकमा जम्मा नगरी उनले अपचलन गरेको समेत खुल्न आएको छ ।

संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताबाट कीर्ते दस्तखत गरी एक करोड पाँच लाख कर्जा प्रवाह गरेको देखाई पौडेल स्वयंले उक्त रकमसमेत उपभोग गरेको बताइन्छ । पौडेलले शाखा प्रमुखको हैसियतले संस्थाबाट विभिन्न सातजना ऋणीलाई लगानी गरेका ३७ लाख ४१ हजार १ सय ८५ कर्जा चुक्ता हुनुअगावै धितो फुकुवा गरी कर्जा जोखिममा पारी संस्थालाई हानीनोक्सानी गरेको समेत उल्लेख छ ।

संस्थालाई कुल पाँच करोड ३३ लाख ९१ हजार १८५ हानीनोक्सानी गरेको लगायतका अभियोगमा पौडेललाई पक्राउ गरिएको हो । उनीउपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्