‘पाँच नम्बर प्रदेश सीमांकनमा तलमाथि गर्न खोजे सदन र सडकबाट आन्दोलन’


२४ कात्तिक । नेकपा (एमाले) ले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्दै एक भएर अगाडि बढन दलहरुलाई आग्रह गरेको छ । संविधान कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणका लागि अगाडि बढ्नु पर्नेमा अनेक नाममा अलमल सिर्जना गर्नु ठीक नभएको भन्दै एमालेले संविधान संशोधनको औचित्य र आवश्यकता प्रष्ट्याउन पनि सरकारसँग आग्रह गरेको छ ।

‘संविधान कार्यान्वयनमै जोड दिदैं देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने लगायतका विभिन्न निर्णयहरु एमालेले गरेको छ,’ एमाले उप–महासचिव तथा एमाले ५ नं. प्रदेश संगठन कमिटी संयोजक विष्णु पौडेलले भने, ‘अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख बन्न पाउने संवैधानिक व्यवस्था गर्नेलगायतका विषय समेटेको संविधान संशोधनको प्रस्ताव संसद्मा आयो भने एमालेले त्यसलाई कदापि स्वीकार गर्दैन ।’

उनले सरकारले पहाड र तराईका जिल्ला अलग–अलग गरी सीमांकनमा तलमाथि पार्ने तयारी गरेको प्रति पनि आक्रोस व्यक्त गरे ।  ‘हामी सकभर यस्तो मस्यौदा नै नबनाउनुस् भन्छौँ र सरकारलाई यस्तो गल्ती गर्नबाट रोक्छौँ,’ उनले भने, ‘नमाने संसद्मा आयो भने त्यसको कडा प्रतिवाद गर्दै सदन र सडक दुबै मोर्चामा जान्छौं, जनता हाम्रै साथमा छन ।’

बैठकले संविधान समावेशी र लोकतान्त्रिक चरित्रको रहेको भन्दै यसका विरुद्ध भइरहेका सबै खाले षड्यन्त्रहरु चिर्ने र जनतालाई सही कुराको सन्देश दिनेगरी संविधान कार्यान्वयनका लागि प्रदेशभर चार महिने अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । यो अभियान मंसिर–फागुन सम्म चल्ने छ ।

प्रदेश कमिटीका कार्यालय सचिव गोपाल भट्टराइले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मंसिर–फागुनसम्मको अभियानमा पार्टी कमिटीका भेला, बैठक, प्रशिक्षण, पार्टीमा प्रवेश गर्न चाहनेलाई स्वागत, संविधानका विशेषताको प्रचारसहितको घरदैलो र आम सभाको आयोजना गरिने भएको छ ।’

विज्ञप्तिमा  फागुन २० गते नेपालगञ्जमा र २५ गते बुटवलमा विशाल आम सभा गरिने तयारी भएको पनि उल्लेख छ ।  एमाले प्रदेश नम्बर ५ को बैठक २३ र २४ गते चलेको थियो । उक्त बैठकले हाल कायम रहेको पा“च नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग अलग गर्ने कुरा स्वीकार नगर्नेलगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।  बैठकले प्रदेश प्रमुख एवं पार्टी उपमहासचिव बिष्णु पौडेलले पेश गरेको विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो ।

बैठकमा प्रदेश अन्तर्गत रहेका विभिन्न १२ जिल्लाका नेताहरुले संविधान कार्यान्वयन नै नगरी एकाएक र हचुवाका भरमा ल्याएको संशोधनको कुनै औचित्य नरहेको भन्दै पार्टी नेतृत्वलाई त्यसका विरुद्ध एकढिक्का भएर उभिन आग्रह गरेको केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले जानकारी दिए ।

उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यता र उपमहासचिव तथा प्रदेश संगठन कमिटीका संयोजक बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा अर्का उपमहासचिव घनश्याम भुषाल, सचिवद्वय प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पार्टी स्कुल विभागका उप–प्रमुख शंकर पोखरेल, प्रदेश कमिटीका सह–संयोजक दलबहादुर राना, स्थायी समितिका सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सूर्य थापा, बैजनाथ चौधरी, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, ठाकुर गैरै, नजिर मिया, एकराज विक, राधा ज्ञवाली, रामकुमारी झाँक्री तथा पार्टीका विभिन्न कमिटी एवम् प्रदेश कमिटीमा रहेका विभिन्न तहका नेताहरु सहभागी थिए ।

प्रदेश संगठन कमिटीले संविधान कार्यान्वयनका लागि पार्टीले सुरु गर्न लागेको जनपरिचालन अभियान–२०७३ को कार्यान्वयनका लागि चार महिने अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । अमृत गिरी

प्रतिक्रिया दिनुहोस्