पारसका सहयोगीलाई बाबुरामले दिए ढुकुटीको चाबी


१ चैत । कुनै बेला पूर्वराजपरिवारका एक सदस्यको आर्थिक सहयोगीले अहिले नयाँ शक्ति, नेपालको आर्थिक व्यवस्थापन हेर्ने जिम्मेवारी सम्हालिरहेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, त्यो यथार्थ हो । पूर्वराजा ज्ञानेन्द्र शाहसँग मनमुटाव तीव्र भएपछि विरक्तिएर केही वर्ष थाईल्याण्डमा बसेका पूर्वयुवराज पारस शाहको सबै खर्चबर्च बेहोर्ने सुनिल खड्काले अचेल भने नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराई र उनको पार्टीको आर्थिक व्यवस्थापन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

पूर्वयुवराज पारस लागू औषध सेवनका कारण थाईल्याण्डमा जेल पर्दा र थाईल्याण्डमा बस्दा उनका सबै खर्च बेहोरिदिने खड्काले अहिले भने नयाँ शक्ति, नेपालको महत्वपूर्ण विभाग ठानिने उत्पादन तथा आर्थिक व्यवस्थापन विभागको संयोजकको भूमिका पाएका छन् । माओवादी छाडेपछि आर्थिक क्रान्ति गर्ने नारा बोकी नयाँ शक्ति स्थापना गरेका डा. भट्टराईले खड्कालाई आर्थिक स्रोत जुटाउनसक्ने व्यक्ति भएको पहिचान गर्दै सो जिम्मेवारी दिएको बताइन्छ ।

तर, खड्कालाई पार्टीको एउटा महत्वपूर्ण र प्रभावशाली विभागको संयोजक बनाइँदा अरु नेताहरु भने असन्तुष्ट रहेका छन् । राजनीतिक पृष्ठभूमि नहेरी खड्कालाई एकाएक संयोजक दिनुको अर्थ पार्टीलाई चाहिएको बेला पैसा निकाल्नसक्ने व्यक्ति खोजिएको हुनसक्ने अड्कल लगाइएको छ ।

यसैगरी, नयाँ शक्ति, नेपालले अरु पार्टीमा नबिक्ने, कुँडाकर्कटलाई समेत भित्र्याएर महत्वपूर्ण जिम्मेवारी दिन थालेपछि सो पार्टीभित्र वर्षौंदेखि इमानदारपूर्वक काम गर्दै आएका कार्यकर्ताहरु असन्तुष्ट बन्न पुगेका छन् । एमालेमा राम्रै नेताका रुपमा गनिए पनि पछि भने तत्कालीन राजा ज्ञानेन्द्रका कदमलाई समर्थन गर्दै राजावादी बनेका देवीप्रसाद ओझालाई नयाँ शक्तिले भित्र्याएलगत्तै केन्द्रीय कार्यकारी समितिमा लगिएको छ । ओझासँगै मणि पोखरेल र सांसद गंगा चौधरीलाई समेत सो समितिमा मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्