पारस खड्का र प्रियंका कार्की ‘मेगा सेभिङ स्टार’ नियुक्त


२० भदौ । मेगा बैंक नेपाल लिमिटेडले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानको घोषणा गरेको छ ।

सोमबार राजधानीमा विशेष कार्यक्रमका बीच मेगा बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरेका हुन् । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगा बैंकले यो अभियान ल्याएको सिइओ शाहले बताए ।

उनले भने– ‘मेगा बैंकले वित्तीय समावेशितालाई आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको छ । वित्तीय समावेशिताको पहिलो खुड्किला खाता खोल्दादेखि नै सुरु हुन्छ । सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहन्छ । अन्य मुलुकको तुलनामा नेपालको बचत दर अत्यन्त न्यून रहेको तथ्यलाई ध्यानमा राख्दै बचत संस्कृतिको विकास गर्न हामीले यो अभियान सुरु गरेका हौँ ।’

यो अभियानलाई सार्थक बनाउन बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ । ‘युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्नुहुनेछ ।’

सिइओ शाहले भने– ‘यो अभियानको मुख्य उद्देश्य भनेको देशभरका स्कूल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचत गर्ने बानीको थालनी गर्ने रहेको छ ।

नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएका छौँ ।’ कार्यक्रममा क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिन पाएकोमा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्