पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद रहेको वामदेव गौतमको खुलासा


८ असोज । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद रहेको खुलासा गरेका छन् ।

प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

उनले केपी शर्मा ओली आफ्नो समर्थनमा नै पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै पछिल्लो समय माओवादी केन्द्रसँग सरकारको गठबन्धन टिकाउने सवालमा भने मतभेद भएको खुलासा गरे ।

उनले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्ने उनको भनाई छ ।

उनले नेपालको संविधान सबैले मान्नु पर्ने भन्दै संविधानका बारेमा एकदिन दुईदिन फरक धारणा राख्न सकिए पनि संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्ने बताए ।

उनले देशलाई विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै एमालेबिना संविधान संशोधन हुन नसक्ने ठोकुवा पनि गरे । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्