पार्टी विभाजन गर्न खोजेको तथ्य पुष्टि गर्न माधव नेपालको चेतावनी


१२ साउन । राजधानीबाट प्रकाशित एक साप्ताहिक पत्रिकाले नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलको हवला दिदैँ वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजन गर्ने खेलमा लागेको भन्दै समाचार प्रकाशित गरेपछि नेपालले त्यसको खण्डन गरेका छन् ।

बुधबार एक विज्ञप्ति नै निकालेर नेपालको सचिवालयले खण्डन गरेको हो । ‘आज प्रकाशित एक साप्ताहिकको समाचारमा कुनै पार्टी नेताको भनाइ उदृत गर्दै प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘उक्त समाचारलाई आधार बनाई विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामाग्रीमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम जोडिएको र कतिपय स्थानबाट त्यसलाई अतिरञ्जित गरिएको विषयको जोडदार खण्डन गर्दछौँ ।’

साथै विज्ञप्तिमा यस्ता भ्रामक, कपोलकल्पित र दुराशयपूर्ण प्रचारबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकलाई अपील गरिएको छ । ‘टुक्रा टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) र नेकपा (एमाले) जस्तो एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने अथक योद्धा र नेतृत्वकर्तालाई पार्टी विभाजन जस्तो विषयमा कुत्सित मनशायले लाञ्छित गर्न खोजिएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यसले आज हामी सबै नेता कार्यकर्ताहरुको गन्तव्यप्रति गंभीर प्रश्न खडा गरेको छ ।

पार्टीलाई संस्थागत निर्णयको आधारमा सञ्चालन गर्नुपर्ने र निर्णयलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता राख्ने नेताको मानमर्दन र सुनियोजित ढङ्गले चरित्रहत्यामा संलग्न हुनेहरु समयको कठघरामा उभिनुपर्नेछ ।’

असंख्य चुनौतीहरुको सामना गर्दै फरक सिद्धान्त, दृष्टिकोण र कार्यशैली सहित निरन्तर अघि बढेका विभिन्न पार्टीकाहरुलाई संयोजन गरी शान्ति प्रक्रियामा ल्याउने र राष्ट्रको नेतृत्व गर्ने नेताप्रति गरिएका यस्ता दुश्प्रचारपूर्ण क्रियाकलापहरु कदापी क्षम्य हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अतः अतिवादी कित्ताबाट हुने कुनै पनि सुनियोजित कुप्रचारहरुका विरुद्ध जुट्न र एकिकृत कम्युनिष्ट आन्दोलन, संस्थागत पार्टी निर्णय परिपालन, राष्ट्रिय एकता र स्वाभिमान, तीब्र आर्थिक विकास, समृद्धि र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता कमरेड माधव नेपालका मान्यतामा सहयोग र समर्थन गर्न सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायलाई हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्