पुननिर्माणलाई तीव्रता दिने प्राधिकरण प्रमुख ज्ञवालीको प्रतिवद्धता


काठमाडौ, २३ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरहरुको पनि व्यवस्था गरेको छ ।
पुनर्निर्माणको कामलाई तीव्रता दिन भूकम्प प्रभावित सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर रहने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनले वरिष्ठ इन्जिनियरहरुको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि स्पष्ट पारे ।

प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार पनि गरेको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भइरहेको जानकारी दिए । उनले काष्ठमण्डवको कामलाई तीव्रता दिन आवश्यक काठ, कालीगढको व्यवस्था भइसकेको बताए ।
प्राधिकरणले शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा पनि ढिलाई नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्