पुनरावेदन अदालत बार एशोसिएशनमा एमाले निकटका वकिलहरुको समूह नै विजयी (मतसहित)


९ साउन । पुनरावेदन अदालत बार एशोसिएशन, पाटनको कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । एमाले निकटका वकिलहरुको बर्चश्व रहेको पुनरावदेन अदालत बार एशोसिएशन, पाटनको अध्यक्षमा एमाले निकटकै वकिल मेजर थापा भारी मतले विजयी भएका छन् ।

२४ सय ९१ प्रतिनिधि रहेको पुनरावदेन अदालत बार एशोसिएशन, पाटनको निर्वाचनमा थापाले ११ सय ४७ मत प्राप्त गरेका हुन् । करिब १८ सयदेखि दुई हजारसम्म प्रतिनिधि एमाले निकट वकिलको पक्षमा रहेको दाबी एमाले निकटका वकिलले गर्दै आएका थिए ।

तर, धेरैले मतदानमा सहभागिता देखाएनन् । १४ सय ९५ मत खसेकोमा ११ सय ४७ मत प्राप्त गर्नुलाई एमाले निकटका वकिलहरुले ठूलो उपलव्धी ठानेका छन् । थापासहित एमालेकै तर्फबाट शान्तिराम खतिवडाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । यद्यपि खतिवडाले अन्तिम समयमा थापालाई नै सहयोग गरेका थिए ।

तर, उनले ५४ मत मात्र प्राप्त गरे । कांग्रेस निकट वकिलका तर्फबाट राजकुमार निरौला र माओवादी निकट वकिलहरुका तर्फबाट नरबहादुर भुजेलले उम्मेदवारी दिएका थिए । तर, पेशागत प्रगतिशील कानुन व्यवसायी समूहबाट उम्मेदवारी दिएका मेजर थापाका सामू उनीहरु निरिह भने । निरौलाले १४२ र भुजेलले १ सय ३२ मत प्राप्त गरे ।

उपाध्यक्षसहित सबै पदमा पेशागत प्रगतिशील कानुन व्यवसायी समूहबाट विजयी भएका छन् । उपाध्यक्षमा सेवन्त राज निरौला विजयी भए उनले १ हजार ४२ मत ल्याए । सचिवमा ताराकुमार श्रेष्ठ विजयी भए । उनले पनि १ हजार १७ मत ल्याए । सहसचिवमा सिर्जना कँडेल र कोषाध्यक्षमा गणेश दाहाल विजयी भए । कँडेलले १ हजार ५९ र दाहालले १ हजार २१ मत ल्याए । १२ जना सदस्यहरु पनि पेशागत प्रगतिशील कानुन व्यवसायी समूहबाटै विजयी भए । सबैले कति मत प्राप्त गरे हेर्नुहोस् । 1 2 3

प्रतिक्रिया दिनुहोस्