पुनर्निर्माणका लागि सामूहिक रुपमा स्वयंसेवक परिचालन गर्नुपर्छः प्रधानमन्त्री 


काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि सबै दलले सामुहिक रुपमा स्वंयसेवक परिचालन गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले सिंहदरवारमा बोलाएको सर्वदलीय बैठकमा दल बिशेषले आ–आफ्नै ढंगले स्वयंसेवक परिचालन गर्दा समस्या आउन सक्ने भन्दै सबै दलहरुबाट प्राप्त नामलाई एकीकृत गरी संगठित रुपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीले पुनर्निर्माण प्राधिकरणले स्वयंसेवक परिचालनको कार्यबिधि बनाएर समन्वय गर्ने जानकारी बैठकमा दिएका थिए । ‘सबै स्वयं सेवकहरुको रेकर्ड राखेर यो अभियानलाई संयुक्त रुपमा सञ्चालन गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘जेठ १ देखि १५ दिनका लागि यो अभियान चलाऔं । यो अभियान खासगरी सामुहिक आवास निर्माणका लागि केन्द्रित गरौं । ’
पुनर्निर्माणका नाममा स्वदेशी र बिदेशी संस्थाहरुले गरेको खर्चको पनि गम्भीरतापूर्वक अनुगमन गर्न र उनीहरुले स्वयंसेवाका रुपमा गर्न चाहने कामको पनि विधि बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिए ।
प्रधानमन्त्रीले बैठकमा प्रधानमन्त्री ओलीले मधेसी मार्चाले उठाएका मागहरु वार्ताकै माध्यमबाट समाधान गरिने बताएका तिए । मोर्चासँग वार्ता गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताएका थिए । मधेसको समस्या राष्ट्रको हितलाई सर्वोपरि राखेर नै समाधान खोज्न सकिने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले सरकारले संसदको अधिवेशन वैशाख २१ गते आह्वान गरिसकेको र सम्भवत वैशाख २३ गते सरकारको नीति कार्यक्रम संसदमा पेश गर्ने जानकारी दिनुहँदै संसदको प्रभावकारिता मर्यादापूर्वक बढाउन दलहरुलाई आग्रह गरेका थिए ।
सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता महेश आचार्य, एनेकपा माओबादीका महासचिव कृष्णबहादुर महरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका नेता पशुपति समशेर राणा, नेकपा संयुक्तका अध्यक्ष गणेश शाह, नेमकिपाका नेता प्रेम सुवाल तथा अन्य दलका नेताहरु प्रेमबहादुर सिंह, लक्ष्मण राजबंशी, सिबी श्रीष लगायतले प्रधानमन्त्रीले राखेको स्वयंसेवक परिचालनप्रति सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्