पुनर्निर्माण अभियानमा जुट्दै कांग्रेस, टोलटोलमा कार्यकर्ता परिचालन


काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनर्निर्माणका लागि भूकम्प प्रभावित जिल्लामा आफ्ना कार्यकर्ता खटाउने भएको छ । मुख्य सचिव ऋषिकेश तिवारीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘२०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पनहरुले मुलुकमा जनधन–प्राकृतिक सम्पदाको ठूलो क्षति भएको र लाखौँ मानिसहरु घरबार विहिन भई खुल्ला आकाशमुनि बस्न विवश भएको कहालीलाग्दो घटनाले आज पनि हामी सबैलाई मर्माहत र दुःखीत बनाएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँ–टोलहरुमा पुन निर्माणको कार्यका लागि १ हजार ३४६ इन्जिनियरहरुलाई खटाइसकेको सन्दर्भमा नेपाली कांग्रेसले पुनर्निर्माणको कार्यमा खटिएका इन्जिनियरहरु तथा जिल्ला विकास कार्यालयका प्राविधिकहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ प्रभावित जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्लाका नेता एवं कार्यकर्ताहरुलाई खटाउने निर्णय गरेको छ ।’

खटिएका इन्जिनियर र जिल्ला विकास कार्यालय प्राविधिक शाखासँग समन्वय गरी उक्त कार्यमा सम्बन्धित जिल्लाले पार्टीका सम्पूर्ण निकाय परिचालित गर्नु गराउन पनि कांग्रेसले निर्देशन दिएको छ । त्यसको सम्पूर्ण अनुगमन पार्टी केन्द्रीय कार्यालयले गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

‘सम्बन्धित जिल्लामा खटिएका प्रत्येक इन्जिनियरहरुसँग समन्वय गरी प्रत्येक गाऊँ–टोलका लागि पार्टीको तर्फबाट २०–२० जना कार्यकर्ता सहभागी गराउने र सहभागीहरुको सम्पूर्ण अभिलेख जिल्ला पार्टी कार्यालयमा राख्नु हुन तथा केही समस्या परेमा यथाशीघ्र केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुलाई अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्