पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली भन्छन्– ‘सबैको अपेक्षा अनुसार काम भएको छैन, आलोचना स्वाभाविक हो’


१० पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको मारमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेको जानकारी दिएका छन् । उनले आइतबार पत्रकार सम्मेलनमा सो बारे जानकारी दिएका हुन् । उनले  पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेको र ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार गरेको पनि जानकारी दिए ।  ‘भूकम्प अति प्रभावित १४ जिल्लापछि हामीले भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाएका छौं,’ उनले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको जानकारी प्राप्त भएको छ भने १७ हजार १ सय ४४ घरको पुनर्निर्माण जारी छ ।’
उनले घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएको पनि जानकारी दिए । जसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भएको उनको भनाई थियो । ‘कतिपय गुनासाहरु स्थानीय तहबाटै सम्बोधन भएका छन् भने केन्द्रमा प्राप्त मध्ये पनि ७९ हजार ३ सय २२ वटा गुनासाहरुको पुनरावलोकन भएको छ, ’ उनले भने, ‘जुन नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने छ । भूकम्प पीडित जनतालाई परेको पीर मर्कालाई सम्बोधन गर्न प्राधिकरण अत्यन्तै गम्भीर भएर लागेको छ ।’

उनले यसबीचमा पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको र  ६९ वटा सम्पदाको पुनर्निर्माण कार्य जारी रहेको पनि जानकारी दिए ।  ‘चालू आर्थिक वर्ष २०७३–०७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘२०० वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १६९ वटा स्वास्थ्य केन्दको पुनर्निर्माण कार्य जारी छ । चालू आर्थिक वर्षभित्रै २६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।’

उनका अनुसार ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको छ भने २२८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन् । चालू आर्थिक वर्षभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् प्रिफ्रेब्रिकेटेड गरी ५०७ वटा भवन पुनर्निर्माण गर्ने लक्ष्य प्राधिकरणको छ ।

उनले शैक्षिक संस्थातर्फ २०० वटा विद्यालयको पुनर्निर्माण भएको र १२०० विद्यालय पुनर्निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । ‘२०७४ साल कार्तिकभित्र २३ सय विद्यालयहरुको मर्मत सम्भार एवम् पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २९७ वटाको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने ९६१ आयोजनाहरुको पुनर्निर्माण भइरहेको छ ।’

उनले सडक, जलविद्युत, उद्योग, जीवीकोर्पाजन लगायतका क्षेत्रहरुमा पनि समानन्तर रुपमा कामहरु भइरहेको पनि जानकारी दिए । ‘काठमाडौं उपत्यकाभित्रका सात वटै विश्वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको वृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढाइएको छ,’ उनले भने, ‘विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्य असाध्यै जटिल र समय लिने कार्य हो । सबैको अपेक्षा असाध्यै धेरै हुने र तयारी गरेर काम अघि बढाउन समय लाग्ने हुँदा आलोचना हुनु अस्वभाविक होइन ।’

उनले नयाँ संस्थागत संरचना तयार पारी जनशक्ति परिचालन गर्नुका साथै पुनर्निर्माणमा जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउन इन्जिनियरहरुलाई गाँउ–गाउँमा परिचालन गरेको पनि जानकारी दिए । ‘विभिन्न सरकारी निकाय, दातृ निकाय, साझेदार संस्था लगायतको संलग्नतामा नीति तथा कार्यविधिहरु तयार पारी कार्यान्वयनमा ल्याएका छौं,’ उनले भने, ‘सर्वेक्षण गरेर भूकम्प पीडित जनतालाई बैंकिङ प्रणालीमार्फत अनुदान उपलब्ध गराएका छौ । विभिन्न राजनीतिक दल, साझेदार संस्था, स्थानीय समुदायलाई विश्वासमा लिएर काम गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्