पुरस्कारको अत्तोपत्तो छैन, सचिवालय भने यथावत


भदौ २० । हरेक पाँच वर्षमा दिँदै आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको यो वर्ष पालो परेको भए पनि कसैलाई प्रदान गरिएन । तर, उक्त पुरस्कार दिनै भनेर गठन गरिएको सचिवालय भने न अहिलेसम्म खारेज गरिएको छ, न त बोर्ड हटाउनेतिर सम्बन्धित निकायको ध्यान नै पुग्न सकेको छ ।

लुम्बिनी विकास कोषको संयोजनमा सरकारले विश्व शान्तिमा उल्लेख्य योगदान दिने अन्तर्राष्ट्रिय संघसंस्था र व्यक्ति–विशेषलाई समेत हरेक ५÷५ वर्षमा उक्त पुरस्कार दिइँदै आएको थियो । गत जेठ ८ गते परेको २५६० औं बुद्ध जयन्तीका दिन उक्त पुरस्कार दिइनुपर्ने भए पनि कोषका पदाधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच उचित समन्वय नहुँदा पुरस्कार छनोट समिति र सचिवालय गठन भएर काम अघि बढ्दासमेत पुरस्कारको घोषणा हुन सकेन ।

किन घोषणा भएन पुरस्कार ?
२५६० औं बुद्ध जयन्तीका दिन उक्त पुरस्कार घोषणा गर्ने हेतुले कोषले एउटा पुरस्कार छनोट समितिसमेत गठन गरेको थियो । तीन सदस्यीय उक्त छनोट समितिमा कोषका उपाध्यक्ष भिक्षु निग्रोध पनि रहेका थिए । र, पुरस्कारको घोषणा र संयोजन गर्नका लागि कोषको काठमाडौं बबरमहलस्थित सम्पर्क कार्यालयमा सचिवालयसमेत स्थापना गरिएको थियो । सचिवालय गत फागुनमै स्थापना गरिएको हो ।
तर, २५६० औं बुद्ध जयन्ती काठमाडौं र लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइए पनि उक्त पुरस्कारको घोषणा भने हुन सकेन । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न बुद्ध जयन्तीकै दिन उक्त पुरस्कार घोषणा हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन ।

पुरस्कार घोषणा नभए पनि सचिवालय भने अझैसम्म कायम राखिएको छ । पुरस्कारको घोषणा नगर्ने सचिवालय किन कायम राखिएको हो ? पहिलो न्यूजको जिज्ञासामा संस्कृति मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने, विगतमा घोषणा गर्न नसके पनि त्यो पुरस्कार दिने कुरा अहिले पनि कायम छ । उनले पुरस्कारबारे कोष बढी जिम्मेवार रहेको पनि बताए ।

कसले पाएका थिए पहिलो पुरस्कार ?
पाँच वर्षअघि उक्त पुरस्कार दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानका दुई सहर हिरोसिमा र नागासाकीका मेयरहरुले संयुक्त रुपमा पाएका थिए । विश्वमा शान्तिको सन्देश फैलाउन महत्वपूर्ण योगदान गरेका कारण जापानका ती दुई सहरका मेयरलाई प्रदान गरिएको थियो ।

हरेक ५÷५ वर्षमा दिइने उक्त पुरस्कारको राशी ५० हजार अमेरिकी डलर रहेको छ । विश्वमा शान्ति फैलाउने संस्था र व्यक्तिलाई दिइने उक्त पुरस्कार राशीका हिसाबले नेपालीहरुले विदेशी संघ, संस्था र व्यक्तिहरुलाई दिइने सबभन्दा ठूलो पुरस्कार पनि हो ।

प्रतिक्रिया दिनुहोस्