पुष्पाले पाइन् सिएनएन सुपर हिरोको उपाधि


२७ मंसिर । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन् । अमेरिकामा आइतबार साँझ आयोजित एक कार्यक्रमबीच ३३ वर्षिया बस्नेतलाई ‘सिएनएन सुपर हिरो २०१६’ को उपाधि प्रदान गरिएको हो । बस्नेतले सन् २०१२ को सिएनएन हिरोको उपाधिसमेत प्राप्त गरेकी थिइन् ।

बस्नेतलाई जिताउन मत अभियान चलाइरहेका युवा अभियानकर्मी गौरव कँडेलले सो कुराको जानकारी गराएका हुन् । काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहेकी छन् ।

उपाधि पाएपछि बस्नेत सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् भनेकी थिइन् । उनले अगाडि थपिन्, ‘मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

सिएनएन सुपर हिरोको उपाधिसँगै बस्नेतले सञ्चालन गरिरहेको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्ने जनाइएको छ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्