पुस १८ बाट अन्तराष्ट्रिय विमानस्थल ठप्प पार्ने मजदुरहरुको चेतावनी


१३ पुस ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषण अन्त्यको मा ग गर्दै त्यहाँ कार्यरत मजदुरहरुले पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश–३ संगठन, यूनिट्राभ एयरपोर्ट इलाका कमिटी अन्तरगतको सुुनगाभा, नयाँ नेपाल, नेपाल नागरिक उड्डयन सरसफाइ, एयर इन्डिया, टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमेस्टिक प्रालिलगायतले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले बुधबार बृहत अन्तक्रिया कार्यक्रम गरी आफ्ना मागको सुनुवाई नभए विमानस्थल पूरै ठप्प पार्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश– संगठन कमिटीका संयोजक एवं जिफन्टका उप–महासचिव जनक चौधरीले विमानस्थलमा कार्यरत श्रमिकमाथि ठेकेदार कम्पनीहरुले चरम श्रमशोषण गरेको आरोप लगाए ।  उनले सामाजिक सुरक्षा, तलब बृद्धिका साथै न्यायोचित व्यवहारको लागि संघर्षका लागि तयार रहन निर्देशन पनि दिए ।

कार्यक्रममा प्रदेश सचिव रामहरी नेपालले ठेक्का प्रथाका कारण श्रम क्षेत्र समस्यामा परेको बताए ।   त्यस्तै क्युपेक नेपालका अध्यक्ष नरनाथ लुइँटेलले१८ औं सताब्दीका मानिसको जस्तो सोँच भएका व्यवस्थापकहरुका कारण श्रम क्षेत्रमा समस्या बढ्दै गएको आरोप लगाए ।

कार्यक्रममा यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एयरपोर्टमा ठेकेदार कम्पनी र नेपाल वायुसेवा निगम नेपाल हवाई प्राधिकरणले आउट सोर्सिङको नाममा मोटो कमिसन रकमको चलखेलमा श्रम शोषण गरेको आरोप लगाए ।  उनले  पुस १८ गतेसम्मको अल्टिमेटम दिंदै उक्त समयमा पनि मजदुरको समस्या समाधान नभए सशक्त आन्दोलन थालिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्