पुस १ गतेदेखि सबै निजी अस्पतालमा अनिवार्य १० प्रतिशत सेवा निःशुल्क


२७ मंसिर  । देशभरका सबै निजी अस्पतालले अब १० प्रतिशत सेवा निःशुल्क गराउनु पर्ने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सोमबार पत्रकार सम्मेलन गरी पुस १ गतेदेखि अनिवार्य रुपमा सो व्यवस्था कार्यान्वयन गर्न देशभरका निजी अस्पताललाई पत्राचार गरेको जानकारी दिए ।

अनिवार्य कार्यान्वयन गर्ने मात्र होइन थापाले सेवाग्राहीले सो सेवा पाए नपाएको अभिलेखसमेत चुस्त रुपमा राख्न निर्देशन दिएका छन् । सरकारले गत कात्तिक १३ गरिब, असहाय, अपांगता लगायतकाको उपचार सेवामा १० प्रतिशत छुट दिन सार्वजनिक सूचना नै निकालेको स्मरण गराउँदै उनले भने– ‘यसको कार्यान्वयन नभएको भन्दै सेवाग्राहीले गुनासो गरेपछि कार्यान्वयनलाई प्रभावकारी बनाउने गरी अभिलेख राख्ने व्यवस्था गरिएको हो ।’

मन्त्री थापाले सेवा प्रदायकले सेवाग्राहीलाई दश प्रतिशत छुट दिए नदिएको रेकर्ड राख्न जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयसहितका निकायलाई निर्देशन दिइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्