पूर्वमन्त्रीको प्रधानमन्त्रीलाई प्रश्नः ‘अपराधीलाई संरक्षण दिने मन्त्रीलाई के गर्नुहुन्छ ?’


१९ असोज । नेपाली कांग्रेसका नेता एवम् सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले ठगी तथा सरकारी कागजपत्र किर्ते मुद्दामा दोषी ठहर्याइएका एक व्यक्तिलाई संरक्षण दिएको भन्दै उनकै गृह जिल्लाका एक नेताले आलोचना गरेका छन् ।

नुवाकोट रावतबेसी–४ का सरोज केसीलाई सहरी विकासमन्त्री केसीले संरक्षण दिएर राखेको भन्दै पूर्व परराष्ट्र मन्त्री समेत रहेका महेन्द्रबहादुर पाण्डेले युवा संघ नेपाल प्रचार विभागले बुधबार आयोजना गरेको कार्यक्रममा यस्तो आलोचना गरेका हुन् ।  केसीले एक एमबीबीएस डाक्टरलाई एमडी पढाइदिने झुटो आश्वासन र नक्कली कागज बनाएर ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतले जेल सजाय र सात लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

‘ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतले जेल सजाय ुसुनाएका एक व्यक्तिलाई शहरी विकास मन्त्रीले पीए बनाएका रहेछन्,’  पाण्डेले भने ‘धेरै कुरा त मैले सञ्चारमाध्ययमबाट थाहा  पाएँ । सञ्चार माध्ययमले सथ्य लेख्छन भन्ने मलाई थाहा छ ।’ उनले अपराधीलाई संरक्षण दिने मन्त्रीबाट जनताले कुनै पनि अपेक्षा गर्न नसक्ने पनि दाबी गरे । ‘अपराधीलाई खुलेआम सिंहदरबार छिर्ने अनुमति दिने मन्त्रीसँग हामीले के अपेक्षा गर्ने,’ पाण्डेले प्रश्न गरे । उनले प्रधानमन्त्री प्रचण्डसँग त्यस्ता मन्त्रीलाई कारबाही गर्न माग समेत गरे । (मन्त्री केसी र सरोज केसीसँगै बसेको यो तस्बिर गुगलबाट लिइएको हो)

प्रतिक्रिया दिनुहोस्