पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तिबारे यस्तो भन्छन्– बाबुराम, गुरुराज र रामकुमारी


७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको आरोपसहितको विज्ञप्ति बुधबार साँझ जारी गरेसँगै त्यसको अहिले मिश्रित प्रतिक्रिया आएको छ ।

उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको समेत दाबीसहित उनले विज्ञप्ति जारी गरेपछि उनी नेपालको धमिलो राजनीतिमा माछा मार्ने दाउमा लागेको प्रतिक्रिया केहीले दिएका छन् । केही भने उनले नागरिकको ठाउँबाट यो चिन्ता व्यक्त गरेका भए स्वाभाविक मान्न सकिने तर सत्ता फर्काउने नियतले हो भने त्यो सपना पूरा नहुने तर्क गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तिलाई स्वाभाविक भन्छन् । ‘नेपालको राजनीति अन्योलपूर्ण अवस्थामा रहेका बेला पहिला आफ्नो राजपाठ गुमाएका राजाले खेल्न खोज्नु स्वाभाविक हो,’ घिमिरेले भने, ‘नेपालको राजनीति सही ढंगले अघि बढेको भए ज्ञानेन्द्रले यो आँट गर्ने थिएनन् ।’

घिमिरेले ज्ञानेन्द्रले पहिला आफ्नै अयोग्यताका कारण राजपाठ गुमाएको स्मरण गर्दै भने– ‘नेपालका राजनीतिक दलहरुले पनि अयोग्यता प्रकट गर्दै जाने हो भने प्राप्त गरेको लोकतन्त्र गुम्न सक्छ ।’

ज्ञानेन्द्रको विज्ञप्तिले राजनीतिक दलहरुलाई अझ सचेत र चनाखो हुन सहयोग गरेको घिमिरेको भनाइ छ । ‘दलहरुले अयोग्यता प्रकट गर्दै जाने हो भने धेरै ज्ञानेन्द्रहरुले टाउको उठाउने छन्,’ दलहरु सचेत हुनुपर्छ । समयमा निर्वाचन सम्पन्न गर्नुपर्छ । संविधान कार्यान्वयन गर्नुपर्छ । होइन दलहरुबीच द्वन्द्व बढाएर जाने हो भने त्यसको परिणाम सकारात्मक नहुन सक्छ ।

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको भन्दै विज्ञप्ति निकालेको प्रति एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पनि फरक खालको तर्क छ । ‘ज्ञानेन्द्र अहिलेका समस्या होइन र उनी समाधान पनि होइनन्,’ झाँक्रीले भनिन्, ‘त्यसैले उनले नागार्जुनमा राज्यले दिएको खाएर बस्दा राम्रो हुन्छ ।’

भारतीय राजदूत रञ्जित रायले गरेको अनावश्यक चलखेल र भारतीय हस्तक्षेपलार्इ हेर्ने हो भने ज्ञानेन्द्रको विज्ञप्तिको चर्चा गर्नु त्यति उचित नभएको उनको तर्क छ । ‘ज्ञानेन्द्र अहिले नागरिक हुन, उनले नागरिकको हिसाबबाट देश समस्यामा छ भनेर चिन्ता व्यक्त गरेका हुन भने त्यसलाई ठिक मान्न सकिन्छ,’ झाँक्रीले भनिन्, ‘मध्यरातमा प्रधानमन्त्री भेट्ने र भारतको इशारामा नाच्न लगाउने भारतीय राजदूतको व्यवहारबाट दिक्क भएका बेला उनले नागरिककै हिसाबबाट विज्ञप्ति निकालेका भए त्यसलाई स्वाभाविक मान्न सकिन्छ।’

ज्ञानेन्द्रले निकै भावुकअभिव्यक्तिसहित विज्ञप्तिमा भनेका थिए– ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन । दुर्भाग्यवस आजको सन्दर्भमा वाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ ।’

भारतको हस्तक्षेपलाई समेत ज्ञानेन्द्रले नागरिकका रुपमा विज्ञप्तिमार्फत नै गलत भन्नु त्यो स्वाभाविक भएको झाँक्रीको तर्क छ । ‘तर उनले धमिलो पानीमा माछा मार्ने दाउमा यस्तो विज्ञप्ति निकालेका हुन भने त्यो पूरा हुँदैन,’ उनले भनिन् ।

यता नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पश्चगामी ध्येयका साथ पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको आरोप लगाएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्– ‘बाह्य शक्ति केन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्ण हो । शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ?’ उनले ज्ञानेन्द्रको त्यस्तो अभिव्यक्तिको सबै अग्रगामी शक्तिले प्रतिवाद गर्नु पर्ने बताएका छन् ।

माओवादी नेता एवं पूर्वमन्त्री उमेश यादवले पनि पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण अवस्थामा खेल्ने प्रयास स्वरुप भएको भनी टिप्पणी गरे ।

‘उनले यो धमिलो भएको राजनीतिमा माछा मार्ने प्रयास गरेका छन्,’ उनले भने, ‘उनलाई राष्ट्र र जनताप्रति माया भएको भए उनले अधिनायकवाद लाद्ने थिएनन् । त्यसैले उनले डकार्नुको कुनै औचित्य छैन । हामी सचेत हुनपर्छ । सबै मिलेर संविधान कार्यान्वयनको चरणमा जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्