पूर्वराष्ट्रपतिले शीतल निवासलाई भने, ‘मैले निर्णय गरिसकेँ, अब म जनकपुर गएर बस्छु’


१३ असार । सरकारले नौ महिनसम्म भाडा नतिर्दा घरधनीले घरबाट निकाल्न माग गर्दै अदालत गुहारेपछि अपमानित महसुस गरेका पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारले वेवास्ता गरेकाले आफ्नो जन्मस्थान जनकपुर नै फर्किने जानकारी दिएका छन् । सरकारले गत कात्तिकदेखि असारसम्मको घरभाडा राष्ट्रपति कार्यालयमार्फत तिर्ने निर्णय गरेपछि शीतल निवासबाट भेट्न पुगेका अधिकारीहरुमार्फत उनले उक्त जानकारी गराएका हुन् ।

गत शुक्रबार पुगेका शीतल निवासका अधिकारीहरुसँग पूर्वराष्ट्रपति यादवले भने, ‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिले यति अपमानित हुनुपर्ला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । म यहाँ आफ्नै इच्छाले आएको पनि होइन । सुरक्षाकर्मी छन्, पूर्वराष्ट्रपतिको एउटा मर्यादा हुन्छ । त्यस आधारमा घर खोजेर यहाँ राखियो । तर, नौ महिनासम्म न कोही भेट्न आयो न त कसैले चासो नै राख्यो । ताकेता गर्दा पनि कसैले वास्ता नगरेपछि घरधनी अदालत पुगे । यसबाट मलाई ठूलो चोट पुगेको छ ।’ प्रधानमन्त्रीका तर्फबाट भन्दै एकपटक उनका स्वकीय सचिव इन्द्र भण्डारी पुगे पनि उनले त्यसपछि कुनै खबर गरेका थिएनन् ।

‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिले यति अपमानित हुनुपर्ला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । म यहाँ आफ्नै इच्छाले आएको पनि होइन । सुरक्षाकर्मी छन्, पूर्वराष्ट्रपतिको एउटा मर्यादा हुन्छ । त्यस आधारमा घर खोजेर यहाँ राखियो । तर, नौ महिनासम्म न कोही भेट्न आयो न त कसैले चासो नै राख्यो । ताकेता गर्दा पनि कसैले वास्ता नगरेपछि घरधनी अदालत पुगे । यसबाट मलाई ठूलो चोट पुगेको छ ।’

व्यक्तिगत रुपमा आफ्नो कुनै माग नरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘यसपटक पनि पटके निर्णय भएछ, असारसम्मको भाडा घरधनीले पाउँछन् । अनि साउनदेखि फेरि यस्तै लफडा सुरु भइहाल्छ ।’ उनले सरकारलाई अप्ठेरो पार्ने आफ्नो कुनै नियत नरहेको उल्लेख गर्दै भने, ‘त्यसैले मैले निर्णय गरिसकेँ, अब म जनकपुर फर्किन्छु । उहीँ आफ्नो गाउँ (सपही) मै बस्छु ।’

पूर्वराष्ट्रपति यादवलाई भेट्न राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेललगायतको टोली पुगेको थियो । राष्ट्रपतिका सचिव अधिकारीले राष्ट्रपति आफैँले पूर्वराष्ट्रपतिका बारेमा चासो राखेर पटकपटक सरकारसँग कुरा गरेको, प्रधानमन्त्रीले पनि निर्देशन दिएको, अर्थमन्त्रीबाट पनि छिटो निकासाका लागि भनिएको तर कर्मचारीतन्त्रको प्रशासनिक झमेलाका कारण ढिलो भएको जानकारी दिँदै पूर्वराष्ट्रपतिका बारेमा राज्यको जिम्मा भएकाले चिन्ता नलिन अनुरोध गरेका थिए । सचिव अधिकारीले पहिलो न्युजसँग भने, ‘हामीले पूर्वराष्ट्रपतिज्यूलाई हाम्रो तर्फबाट सबै काम तत्परताका साथ हुन्छ भनेर जानकारी गरायौँ । स्वयम् राष्ट्रपतिज्यूले चासो राख्नुभएको कुरा अवगत गरायौँ ।’

सात वर्ष शीतल निवास बसेर गत कात्तिकमा निवृत्त भएपछि पूर्वराष्ट्रपति यादव ललितपुरको बागडोस्थित हरिभक्त विष्टको घरमा बस्दै आएका छन् । मासिक १ लाख ४० हजार रुपियाँ सम्झौता भए पनि अहिलेसम्म रकम नपाएपछि घर खाली गराइदिन भन्दै विष्ट अदालत पुगेका छन् । सरकारले हालै नौ महिनाको रकम निकासा दिने निर्णय गरेर राष्ट्रपति कार्यालयले १२ लाख ३९ हजार ४ सय रुपियाँ निकासा दिएको छ । अब उनले अदालतबाट मुद्दा फिर्ता लिनेछन् । तर, मुद्दा नै परिसकेका कारण त्यो घर छाड्ने योजनामा पूर्वराष्ट्रपतिको परिवार छ ।

सरकारले हालै नौ महिनाको रकम निकासा दिने निर्णय गरेर राष्ट्रपति कार्यालयले १२ लाख ३९ हजार ४ सय रुपियाँ निकासा दिएको छ । अब उनले अदालतबाट मुद्दा फिर्ता लिनेछन् । तर, मुद्दा नै परिसकेका कारण त्यो घर छाड्ने योजनामा पूर्वराष्ट्रपतिको परिवार छ ।

पूर्वराष्ट्रपति यादवले आफूलाई ठूलो, पायक र सुविधासम्पन्न घर नचाहिएको उल्लेख गर्दै शीतल निवासको टोलीसँग भने, ‘मलाई गोदावरीतिर व्यवस्था गरिदिए पनि हुन्छ, भक्तपुरतिर भए पनि हुन्छ, अझ बनेपातिर भए पनि हुन्छ । यहीँ काठमाडौँमै चाहिन्छ भनेको छैन । डायबिटिज छ, बाहिर हिँड्न असजिलो हुन्छ । विहान वरिपरि घुम्नका लागि तीन–चार रोपनीको कम्पाउन्ड भएको घर भए हुन्थ्यो भनेको हुँ । तर, कुरा सुनुवाइ भएन ।’

पूर्वराष्ट्रपति यादवले दुनियाँका अरु मुलुकमा पूर्वराष्ट्रपतिका बारेमा जे व्यवस्था छ, त्यही हेरेर गर्दा हुनेमा यति ठूलो लफडा बनाइएको भन्दै गुनासो गरेका थिए । उनको भनाइ थियो, ‘भारतमा धेरै लामो परम्परा छ, त्यहीँको जस्तो नहोला । आफ्नो मुलुकको आर्थिक अवस्था पनि हेर्नुपर्छ । अरु देशको जस्तै हुबहु गरौँ भन्ने पनि होइन । पूर्वराष्टप्रमुखको मर्यादा राख्ने गरी निर्णय गर्नमा केले रोकेको छ ?’

पूर्वराष्ट्रपति यादवले २०७२ असोज ३ गते संविधान जारी गर्नुभन्दा केही दिन कुरेर मधेसी दलहरुलाई पनि फकाएर संविधान जारी गर्नु उपयुक्त हुने राय राखेका थिए । त्यसमा प्रमुख दलहरु सहमत भएनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विरामी जाँच्ने डाक्टरले कानुनका कुरा नजान्ने’ प्रतिक्रिया दिएका थिए । अहिले पूर्वराष्ट्रपति यादवको वेवास्ता हुनुलाई त्यसैसँग जोडेर पनि हेर्ने गरिएको छ । पूर्वराष्ट्रपति यादवलाई भेट्न जानेहरुका बीचमा यो कुरा उठ्ने गरेको छ ।

यसैगरी, मधेसी दलका कार्यकर्ताहरुले चाहिँ मधेसी भएका कारण पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति परमानन्द झा दुबै जनालाई अपमान गरिएको आरोप पनि लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्