पूर्वसभामुख नेम्वाङको आपत्तिः ‘संविधान संशोधन प्रस्ताव संविधानको ठाडो उल्लंघन हो’


१५ मंसिर । नेकपा (एमाले) स्थायी समिति सदस्य एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा दर्ता गरेर सरकारले संविधान ठाडै उल्लंघन गरेको बताएका छन् । संविधान जारी गर्दाताकाका सभामुखसमेत रहेका नेम्वाङले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘सरकारले आवश्यकता र औचित्यबारे स्पष्ट नपारीकनै संविधानको संशोधन प्रस्ताव दर्ता गरेको छ । यो संविधानको सिधै उल्लंघन हो ।’

पहिलादेखि नै राजनीतिक दलहरुलाई एउटै विन्दुमा उभिन नदिन प्रयत्न भएको भन्दै नेम्वाङले भने, ‘अहिले संविधान संशोधन प्रस्ताव दर्ता हुनुको मुल कारण नै दलहरुलाई एउटै विन्दुमा उभिन नदिने षड्यन्त्रअनुरुप भएको हो ।’ अरु देशमा संविधानसभाबाट सिधै चुनावमा गएको उदाहरण दिँदै नेम्वाङले भने, ‘हामीले संक्रमणकालीन अवस्थालाई हेरेर संविधान सभालाई व्यवस्थापिका–संसदका रुपमा रुपान्तरित गरेका थियौं ।’

सीमांकन हेरफेर सीमा निर्धारण आयोगमार्फत् गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले नै संशोधन प्रस्तावमार्फत् प्रदेश नं. ५ को सीमांकन गर्न चाहेको बताउँदै नेता नेम्वाङले भने, ‘अहिले यही सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा परेको छ । सर्वोच्च अदालतमा मुद्दा परेको थाहा पाउँदापाउँदै सरकारले किन रातारात संविधान संशोधन प्रस्ताव दर्ता गरेर सीमांकन हेरफेर गर्ने काम ग¥यो । यो अदालतलाई सिधै अवहेलना गर्ने काम हो ।’

आफू केही दिनअघि बुटबल पुगेर फर्किएको स्मरण गराउँदै नेता नेम्वाङले भने, ‘मैले बुटवलका सबै दलका नेता, जनतासित कुराकानी गरेँ । सबैजना ५ नम्बर प्रदेशलाई चलाउन नहुने पक्षमा थिए । तर, सरकारले भने जबरजस्ती ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोज्यो ।’

पूर्वसभामुख नेम्वाङले विगतमा ९० प्रतिशत जनप्रतिनिधिले संविधान जारी गरेको बताउँदै हिजो संविधान जारी गर्ने ९० प्रतिशत जनप्रतिनिधिले नै तराई, मधेस, दलित, जनजातिका मुद्दाहरुलाई सम्बोधन गरेर जाँदा नै संविधानको सर्वस्वीकार्यता कायम हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्