पूर्वसांसद मञ्चको अध्यक्षमा ओमकार


१५ असार । पूर्वसांसद मञ्चको अध्यक्षमा ओमकारप्रसाद श्रेष्ठ चयन भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको साधारणसभाले यसअघि उपाध्यक्ष रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि पूर्वसभामुख तारानाथ रानाभाट अध्यक्ष थिए ।

संसद् सचिवालयले परामर्शदातृ संस्थाका रुपमा मान्यता दिएको उक्त संस्थाको उपाध्यक्षमा विष्णुबहादुर रावत, वीरबहादुर सिंह, रामेश्वर राय यादव, गोविन्दबहादुर शाह, झलकनाथ वाग्ले र उर्मिला अर्याल चयन भएका छन् भने महासचिवमा यसअघिकै शंकरनाथ शर्मा अधिकारी दोहोरिएका छन् । यसैगरी, सचिवमा नरबहादुर हमाल, शिवबहादुर देउजा र ब्रम्हनारायण चौधरी छानिएका छन् भने कोषाध्यक्षमा यसअघिकै सुशीला शर्मा दोहोरिएकी छन् ।

हालसम्मका सबै सांसद सदस्य रहने उक्त संस्थाका कार्य समिति सदस्यहरुमा विनोदकुमार शाह, देवराज घिमिरे, घनेन्द्र बस्नेत, गोमा देवकोटा, विश्वेश्वरा दाहाल, हरि बैरागी दाहाल, कृष्णप्रसाद दाहाल, लक्ष्मीनारायण चौधरी, कृष्णलाल महर्जन, लालबहादुर विश्वकर्मा, सुरेश कार्की, तिलकुमार मेयांबो, गोविन्दप्रसाद कँडेल, कृष्णकिशोर घिमिरे, शिवराज जोशी, रामहरि ढुंगेल, सुशीला स्वार, टंकप्रसाद कँडेल, काशी पौडेल, दुर्योधनसिंह चौधरी, हरिनाथ बाँस्तोला, अक्कलबहादुर विष्ट, सुशीलमान शेरचन, मुक्तिप्रसाद शर्मा, सुरेन्द्र हमाल, जीपछिरिंग लामा, उर्मिला थापा र चन्दन साह छानिएका छन् ।

गोविन्दराज जोशीको संयोजकत्वमा रामनारायण सिंह र डा. रमेश थापा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरेको थियो ।

रामहरि जोशी संस्थापक अध्यक्ष रहेको उक्त संस्थालाई संसद् सचिवालयले सिंहदरबारभित्रै कार्यालय सञ्चालनका लागि अलग्गै भवन उपलब्ध गराएको छ भने सरकारले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपियाँ बिनियोजन गरिदिएको छ ।

सांसदहरुको अनुभवलाई राष्ट्रले कुनै न कुनै रुपमा उपयोग गर्नुपर्ने, विश्वका अरु मुलुकमा प्रचलित मान्यता अनुसार सेवा, सुविधा हुनुपर्ने, मर्यादाक्रम तोकिनुपर्ने जस्ता विषयलाई मञ्चले उठाउँदै आएको छ । राज्य पुनःसंरचना, संवैधानिक व्यवस्था जस्ता विषयमा कार्यक्रम आयोजना गरेर सरकारलाई बेलाबेलामा सुझाव पनि दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्