पूर्व आइजीपी प्रकाश अर्याल पनि बयानमा तानिदैं


काठमाडौं, १८ वैशाख ।  ३३ किलो सुन तस्करी तथा सनम  हत्या प्रकरणले नयाँ मोड लिएको छ । सुन तस्करलाई जोगाउने प्रहरी र सुन तस्करलाई सहयोग गर्ने प्रहरीलाई एकै प्रकृतिको मुद्धा लगाउन थालेपछि सो प्रकरणले नयाँ मोड लिन थालेको हो ।

आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र यतिबेला आतंक फैलिएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी बनेका छन् । यस्तो नियतिले प्रहरीको अनुसन्धानमाथि मात्र प्रश्न उठेको छैन, विगतका थुप्रै प्रकरणमा प्रहरीको संलग्नतामाथि बल पुगेको छ । तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले सुन तस्कर सनम हत्याको अनुसन्धानमा सञ्चारमाध्यमलाई मात्र आधार बनाउँदा र त्यसमा कसको सम्पर्कको आधार के थियो भन्ने नछुट्याउँदा तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालसम्मले बयानका लागि धाउनुपर्ने अवस्था आएको छ। त्यतिमात्र होइन, आफ्नै संगठनभित्र तस्करीका मतियार रहेका भनिएका र त्यसविरुद्ध रहेका दुवैथरी एकबाट अर्कोको नाम पोलेर दुःख दिने अवस्थामा पुगेका छन्।

चैत ३० गते मन्त्रिपरिषद् बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको हो। समितिमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्त लामा, प्रहरी नायब उपरीक्षक डिएसपी सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं छन्। समितिले पूर्वी नेपालका झापा, मोरङ र काठमाडौंको विमानस्थलदेखि छानबिन गरिरहेको छ।

समितिले सुन खोज्ने नाममा सुन तस्करलाई संरक्षण गर्ने र सनम शाक्य हत्याको अनुसन्धानकर्तालाई एकै बास्केटमा हालेर मुद्दा चलाउन थालेको छ। डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई पनि तस्करकै संरक्षणमा लागेको भन्दै अदालतबाट संगठित अपराध ऐनअन्तर्गत अनुसन्धानका लागि समय लिइसकेको छ। त्यसैगरी महाशाखाका तत्कालीन प्रमुख एवं एसएसपी दिवेश लोहनीलाई पनि त्यसरी नै पक्राउ गर्न खोजिएको छ। जब कि पूर्व आइजिपी प्रकाश अर्याल र पूर्व एआईजी बमबहादुर भण्डारी दुवैले समितिसँगको बयानमा एसएसपी लोहनी र डिएसपी केसी तथा सई सञ्जेलको संलग्नता अपराध अनुसन्धान र अभियुक्तिको गिरफ्तारीका सिलसिलामा भएको जानकारी गराइसकेका छन्।

पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डिएसपी सन्जय राउतले सुन तस्करलाई सहयोग गरेको स्पष्ट देखिएको छ। यता एसएसपी लोहनी, डिएसपी केसी र सई सन्जेलको टोलीले शाक्य हत्या प्रकरणको अनुसन्धानमा संलग्न भएको तर सुन तस्करीसँग संलग्नता नदेखिए पनि उनीहरुलाई समेत एकै मेसोमा मुद्दा चलाउन खोजिएको छ। यसो हुन गयो भने संगठनभित्र अपराध अनुसन्धानमा वास्तविक रुपमै सक्रिय हुने प्रहरी कर्मचारीको समेत मनोबल गिरी भविष्यमा कसैले पनि खतरा नमोल्ने अवस्था आउन सक्ने टिप्पणी प्रहरी अधिकारीहरुको छ।

यसरी सुरु भएको थियो घटना
गत फागुन १९ गते महाशाखाको प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ४४ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेको हो। शाक्यले सुन तस्करी समूहका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उपे्रतीको लेखापालका रूपमा काम गर्ने गरेको महाशाखाको अनुसन्धानमा देखिएको छ। शाक्यको हत्यापछि गोरेले महाशाखाका सई बालकृष्ण सन्जेललाई आफूसँग भएका भारतीय नागरिकले शाक्यलाई मारिदिएको बताउँदै शव व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

त्यही आग्रह र उनीसँग भएको कुराकानी विवरण सई सन्जेलले एसएसपी लोहनीलाई सुनाएपछि महाशाखाकै प्रमुखसहित अन्य अधिकृतहरुको बैठकले ‘गोरे फटाहा र सुन तस्कर भएकाले जसरी पनि पक्राउ गरी शव बरामद गर्नुपर्ने’ निष्कर्ष निकालेको महाशाखाका एक अधिकारीले बताए। त्यसपछि महाशाखाका प्रमुख एसएसपी लोहनीले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमख एसपी अरुणकुमार बिसीलाई सम्पर्क गरी आफ्नो टोली आउँदै गरेकाले त्यसलाई थप मद्दत गर्न प्रहरी र अतिरिक्त हतियार पठाउन आग्रह गरेको महाशाखा स्रोतको भनाइ छ। घटनाको प्रकृति गम्भीर भएकाले महानगरीय प्रहरी कार्यालयका तत्कालीन प्रमुख जयबहादुर चन्दलाई आफ्नो टोली काठमाडौं बाहिर जान लागेको मात्रै जानकारी गराएको बरु तत्कालीन प्रहरी महानिरीक्षकलाई भने पूर्ण रुपमा जानकारी गराएको स्रोतको दाबी छ। सबै विवरण सबै प्रहरी अधिकृतलाई जानकारी गराउँदा थप खतरा हुने भएकाले यसो गरिएको पनि स्रोतको भनाइ छ।

काठमाडौंबाट मोरङ गएको महाशाखा टोलीले शाक्यको शव रहेको गाडी नियन्त्रण ग(यो। भारततिर लैजाँदै गर्दा विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कर्पिओमा शाक्यको शव फेला परेको हो। प्रहरीले गाडीभित्र १२ भोल्टका दुई ब्याट्री, डिसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रडलगायतका सामग्री पनि बरामद गरेको थियो । प्रहरीले ३० वर्षीय गाडीचालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की पनि पक्राउ परे । तर, गोरे त्यअघि नै फरार भइसकेका थिए।

तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी र तत्कालीन कार्यवाहक आइजिपी बमबहादुर भण्डारीबीचको टेलिफोन कुराकानीले महाशाखाको टोली गोरे पक्राउ गर्न र थप अनुसन्धानका लागि मोरङ गएको देखिन्छ। तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई लोहनीले गरेको फोन ‘डाइभर्ट’ भई कार्यवाहक आइजिपी भण्डारीले उठाएपछि दुवैबीच घटना र त्यसको सम्भावित अनुसन्धान तथा कारबाहीबारे कुराकानी भएको थाहा हुन्छ।

२०७४ फागुन १८ गते साँझ १९ः२९ बजे भएको पाँच मिनेट ३७ सेकेन्ड लामो टेलिफोन संवादमा एसएसपी लोहनीले गोरे भन्ने व्यक्तिले मान्छे मारेको र निजले शव व्यवस्थापन गर्न आफ्नो टोलीलाई प्रस्ताव गरेको मात्रै बताएका छैनन्, शव व्यवस्थापनको बहानामा उसलाई पक्राउ गर्न आफ्नो टोलीले दुई करोडमा डिल गरी नाटक रचेको समेत कार्यवाहक आइजिपीलाई रिपोर्टिङ गरेका छन्। लोहनीले अर्यालको फोन नम्बरमा कुरा गर्न खोजेको तर सो दिन उनी बिदामा बसेकाले उनको फोन सबै भण्डारीले उठाउँदै शव बरामद गरी गोरेलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिएका थिए। सोहीअनुसार डिएसपी प्रजित केसीको टोली मोरङ गएको थियो। मोरङ नपुग्दै बीच बाटोमा डिएसपी केसी र गोरेसँग भएको संवाद पनि लोहनीलाई पठाएको महाशाखाका प्रहरी अधिकारीहरुको भनाइ छ । ती प्रहरी अधिकारीको भनाइमा केसीले गोरेसँग भोलिपल्ट भेटघाट गर्ने र शव व्यवस्थापन पनि गरिदिने आश्वासन दिँदै त्यसका लागि तत्काल डेढ करोड दिनुपर्ने सर्त राखेका थिए र संवादको यो विषय एसएसपी लोहनीलाई पनि जानकारी गराइएको थियो। केसीले यो सबै संवाद गोरलाई पक्राउ गर्न रचिएको नाटक भएको महाशाखाका प्रहरी अधिकारीहरुको भनाइ छ।

लोहनीको काम भने संवादसहित घटनाको प्रगति विवरण आइजिपीलाई अद्यावधिक गराउनु थियो। तर, महाशाखाको टोली मोरङ पुगेपछि भने गोरे सम्पर्कविहीन भएकाले उनका चालक मल्लसहित शाक्यको शव रहेको गाडी नियन्त्रणमा लिइएको हो। त्यसबीचमा पक्राउ परेका नरेन्द्र कार्की र मोहन काफ्लेले इटहरीका डिएसपी सञ्जय राउतले आफूहरुलाई सहयोग गर्ने भएकाले त्यता जाऔं भन्दै गरेको तर डिएसपी राउतले थाहा पाए गोरेलाई सूचना पुग्ने भएकाले डिएसपी केसीको टोली त्यता नगई मोरङ प्रहरीकहाँ गएको स्रोतको भनाइ छ।
स्रोतले दिएको जानकारीअनुसार गोरेले शाक्यको हत्यापछि सई सन्जेलसहित पूर्व डिआइजी निरौला, एसपी खनाल र डिएसपी राउतलाई शव व्यवस्थापन गरिदिन आग्रह गरेका थिए। अझ एसपी विकास खनालले त शव एकातिर फ्याँकी गाडी त्रिशूलीमा खसाल्न सुझाव दिएको कुरा महाशाखाको टोलीले गोरेबाटै पत्ता लगाएको तथ्य आफैंमा नाटकीय छ। अनुसन्धानका क्रममा यो घटनाले अझै कति नाटकीय मोड लिने हो भन्ने कुरा छानबिन समितिको थप अनुसन्धानमा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस्