पूर्व एमालेबाट चार नेताको स्थायी समितिमा बढुवाको तयारी


काठमाडौं, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा पूर्व एमालेबाट चार नेतालाई बढुवा गर्ने तयारी भएको छ । पूर्व एमालेलाई भागवण्डामा परेको २६ जना स्थायी समिति सदस्यमा तत्कालीन पोलिटब्यूरोका ३ र १ केन्द्रीय सदस्यलाई बढुवा गर्ने नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भएको हो ।

उच्च स्रोतका अनुसार नेताहरु रघुजी पन्त, बेदुराम भुषाल, विष्णु रिमाल र रघुवीर महासेठलाई स्थायी समिति सदस्य बनाउने सहमति भइसकेको छ । २६ जनामध्ये अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, डा. पुष्प कँडेल र सोमनाथ अधिकारी‘प्यासी’को हैसियत पदेन र आमन्त्रित स्थायी समिति सदस्यका रुपमा रहने भएकाले पूर्व एमालेबाट चार स्थानमा ती नेतालाई बढुवा गर्नेगरी सूची तयार भइसकेको छ । अध्यक्ष ओलीले दुवै पार्टीबाट ४५ सदस्यी स्थायी समिति सदस्य पदेन र आमन्त्रितबाहेक हुने पार्टी एकीकरणका क्रममा दुई पार्टी बैठकमा घोषणा गरेका थिए ।
पन्त तत्कालीन एमालेको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए । उनलाई यसअघि स्थायी समिति बिस्तार गर्दा पनि समेट्ने प्रयास गरिएको थियो । भुषाल दुई पटक पोलिटब्यूरो सदस्य भएर पार्टी स्कूल विभाग सम्हालिसकेका वौद्धिक नेता मानिन्छन् । राष्ट्रियसभामा उम्मेद्वार बनाउने निर्णय गरे पनि भुषाललाई तत्कालीन माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको विजयी सुनिश्चितका लागि फिर्ता गराइएको थियो । रिमाल प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार हुन् । तत्कालीन एमालेमा आर्थिक विभाग प्रमुखका रुपमा उनले कोषाध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए । महासेठलाई मधेसी समूदायको प्रतिनिधित्वका रुपमा अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्