पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाकै उजुरीमा छोरा गणेश शेर्पा पक्राउ, किन दिए कृपासुरले उजुरी ?


१९ पुस । नेकपा (एमाले)का सासंद् एवं पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाका छोरा गणेश शेर्पा पक्राउ परेका छन् । उनलाई गौशाला प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  पूर्व मन्त्री शेर्पाले सोमबार गौशाला प्रहरी बृत्तमा आफूलाई पटक–पटक धम्क्याएको, विभिन्न नम्बरबाट फोन गरेर पैसा नदिए मार्ने धम्की दिएको जस्ता आरोप लगाई उजुरी दिएका थिए ।

‘शेर्पाले उजुरी दिएपछि हामीले उहाँकै उजुरीका आधारमा गणेशको खोजी गरेका थियौँ,’  गौशाला प्रहरी बृतका डीएसपी नवराज कार्कीले पहिलो न्युजसँग भने, ‘आज उनलाई हामीले गौरीघाट क्षेत्रबाट पक्राउ गर्न सफल भयौँ ।’ कार्कीले बुधबार शेर्पाकै उपस्थितिमा छलफल गर्ने र नभए गणेशलाई कानुन अनुसार प्रक्रिया अघि बढाउने जानकारी दिए । ‘आज हामीले गणेशलाई यही राखेका छौँ,’ कार्कीले भने, ‘छलफलपछि बुधवारबाट सार्वजनिक मुद्धा अन्र्तगत कारवाही हुन सक्छ ।’ यसबारे जानकारी लिन कृपासुर शेर्पालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

शेर्पा पर्यटन मन्त्री भएका बेला गणेशले आफू शेर्पाको छोरा भएको भन्दै दाबी गरेपछि त्यसैबेला निकै हंगामा भएको थियो । मन्त्री शेर्पा निजामति कर्मचारी हुँदा ताप्लेजुङमा बस्दा स्थानीय दलित महिलासितको अवैध सम्बन्धबाट जन्मिएका छोरा गणेश शेर्पा र आमा धनमाया दर्नाललाई उनले स्वीकार गर्ने भनेपछि त्यतिबेला समस्या समाधान भएको थियो । अहिले धनमायाको निधन भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्