पूर्व माओवादीमा केन्द्रीय सदस्य छनौटको ‘महाभारत’


काठमाडौं, ६ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छनौटका लागि पूर्व माओवादी केन्द्रभित्र प्रचण्डसहितका नेताहरुलाई ‘महाभारत’ परेको छ । भागवण्डामा परेको २ सय केन्द्रीय सदस्यमध्ये १९ जना स्थायी समिति सदस्यको नाम करिब–करिब तय भइसके पनि बाँकी १ सय ८१ केन्द्रीय छनौटका लागि पूर्व माओवादी केन्द्रमा महाभारत देखिएको हो ।
एमालेतर्फका २ सय ४१ जना केन्द्रीय सदस्यको टुंगो लागिसके पनि माओवादी केन्द्रमा लफडा देखिएकाले दुई दिनभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को तयारी लम्बिएको छ ।

यस्तो छ, लफडा
माओवादी केन्द्रमा अहिलेसम्म केन्द्रीय सचिवालय, पोलिटब्यूरो, केन्द्रीय सदस्यहरुको लिष्ट नै छैन । मौखिक नेता बनेकाहरु कुन् पदका हुन् यकीन नभएका कारण पार्टी एकताको दिन ३ वैशाखमा प्रचण्डले केन्द्रीय सचिवालय सदस्यबाहेकका अनाधिकृत व्यक्तिले हस्ताक्षर नगरुन् भनेर नेता देव गुरुङलाई खटाएका थिए । अहिले बाहिर ९९ सदस्यीय केन्द्रीय सचिवालय भनिए पनि ८६ जना मात्र सचिवालय सदस्य रहेको रोष्ट तयार छ । तीमध्ये एकीकृत पार्टी छँदैका १६ जनाको लिष्ट स्थायी समिति सदस्यका लागि तयार भए पनि करिब एक दर्जन नेताहरु पछि पार्टी प्रवेश गरेका र एकताका क्रममा आएकाले एक दर्जनमध्येबाट बाँकी ३ जना कसरी छनौट गर्ने प्रचण्ड सकसमा परेका छन् । पूर्व माओवादीले स्थायी समिति र केन्द्रीय सदस्य छनौटको जिम्मा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’लाई दिइएको छ । तर, उनीहरुले ३ सय जना पोलिटब्यूरो सदस्यमध्येबाट १९ जना स्थायी समिति सदस्यबाहेकबाट काँटछाँट गरेर १ सय ८१ जनाको नाम केन्द्रीय सदस्यमा टुंगो लगाउनुपर्नेछ । तर, ३ सय जना पोलिटब्यूरो सदस्य भनिए पनि सबैको आधिकारिक लिष्ट नरहेको र उनीहरुको वरियताक्रमसमेत निर्धारण नगरिएका कारण कसरी छनौट गर्ने समस्या परेको एक नेताले बताए । यद्यपि, वरिष्ठता, पार्टीमा गरेको योगदानको मूल्यांकन, योग्यतालगायतका समग्र पक्षलाई ध्यान दिएरै छनौट गर्ने नेताहरुले तयारी गरिएको ती नेताको भनाई छ ।
यी हुन् पूर्वमाओवादीबाट प्रस्तावित स्थायी समिति सदस्य
पुष्पकमल दाहाल‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा‘बादल’ देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्तिबहादुर बस्नेत, अमिक शेरचन, लेखराज भट्ट, जयपुरी घर्ती, देवेन्द्र पौडेल, राम कार्की, मणि थापा, उर्मिला अर्यालको नाममा छलफल भइरहेको एक नेताले बताए । त्यसैगरी, कुलप्रसाद केसी, हितमान शाक्य, चक्रपाणि खनाल, तिलक परियार, हितराज पाण्डे, दिनानाथ शर्मालगायत नेताबाट स्थायी कमिटी सदस्य छान्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्