पूर्व राजा वीरेन्द्रबारे यस्तो भन्छन्– पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल


१४ पुस । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पूर्व राजा वीरेन्द्र मुलुकको भू–राजनीतिक अवस्थालाई बुझेर अघि बढ्ने क्षमताको व्यक्ति भएको बताएका छन् । स्व राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसतो बताएका हुन् ।

‘तत्कालीन राजा वीरेन्द्रले दुवै छिमेकी राष्ट्रसँग सन्तुलित विदेश नीति अपनाउनु भएको थियो,’ कटुवालले भने, ‘उहाँले राज्याभिषेकका क्रममा विश्व समुदायसामु नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राखेको प्रस्ताव उचित थियो ।’ कटुवालले  परराष्ट्रविदहरुको परामर्शमा शान्ति क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन पनि माग गरे ।

कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा, इतिहासविद् डा सुरेन्द्र केसी, पूर्वउपरथी टीका धमला, समाजसेवी भरत बस्नेतलगायतले देशको स्वाभिमान र अविभाज्यतालाई कायम राख्न राजा वीरेन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा विभिन्न समयमा गरेका प्रयासका बारेमा चर्चा  गरेका थिए ।

कार्यक्रममा थापाले जनताले कस्तो राजनीतिक व्यवस्था चाहान्छन् भनेर बुझ्ने क्षमता वीरेन्द्रमा भएको भन्दै दलहरुले पनि वीरेन्द्रबाट सिक्नु पर्ने सुझाव दिए । विसं २००२ पुस १४ गते जन्मेका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परेर निधन भएको थियो । अहिले पनि वीरेन्द्रलाई नरम राजाका रुपमा बुझ्नेहरु धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्