पूर्व र वर्तमान राष्ट्रपतिका सल्लाहकारलाई किन तान्यो अख्तियारले ?


१४ असोज । प्रतिशोध साँध्नमा माहिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अन्ततः खोज एवं अनुसन्धान कार्यमा संलग्न एउटा संस्थालाई कारबाहीको दायरामा ल्याउन खोजेका छन् । अख्तियारले सोसल साइन्स बाहा नामक संस्थालाई कारबाहीको घेरामा उभ्याउनुको पछाडि सो संस्थामा कनकमणि दीक्षित आबद्ध रहेको कारण भएको बताइन्छ । प्रमुख आयुक्त कार्कीले केही समयदेखि दीक्षितमाथि प्रतिशोधपूर्ण कारबाही गर्दै आइरहेका छन् ।

अख्तियारले केही दिनअघि सोसल साइन्स बाहा समेतमा भएको अनियमितताका सम्बन्धमा छानविन गर्ने बताएको थियो । अख्तियारमा ‘समाज कल्याण परिषद्का पदाधिकारी समेतको मिलेमतोमा गैरसरकारी संस्थाहरुले विदेशी दाताहरुबाट नेपाली जनताको नाम भजाई करोडौं रुपैयाँ ल्याई उक्त रुपैयाँ आफू र आफन्तको ऐस आराम र रकम बाँडीचुँडी खाने आधार बनाएका छन् । जसको ज्वलन्त उदाहरण सोसल साइन्स बाहा हो भने सोही संस्थासँग आबद्ध एलायन्स फर सोसल डाइलग भन्ने संस्था दर्ता नै नभई दर्ता भएको संस्था सरह कार्य गरिरहेकोले सोको बारेमा समेत छानविन गरी यी र यस प्रकारका संस्थाहरुप्रति कारबाही हुन र डलर खेतीबाट मुक्त गरी आएको रकम गरिब निमुखासम्म पुग्नमा सहयोगको आशा गरेका छौं ।’ भन्ने व्यहोराको उजुरी कसैले दिएपछि छानविनको दायरामा ल्याएको दाबी अख्तियारले गरेको छ ।

बाहामा निर्मलमान तुलाधर अध्यक्ष छन् भने वसन्त थापा उपाध्यक्ष, डा. सुधिन्द्र शर्मा महासचिव, मोहन मैनाली कोषाध्यक्ष, निर्मल ज्ञवाली सदस्य र कनकमणि दीक्षित सदस्य छन् बाहासँग आवद्ध ‘एलाइन्स फर सोसल डाइलग’ नामक संस्थाको कार्यकारी समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल र सदस्यहरुमा अमुदा श्रेष्ठ, विमला राई पौडेल, हिरालाल विश्वकर्मा, मुक्तासिंह लामा, शशी अधिकारी, सुरेन्द्र लाभ कर्ण र सो संस्थाको निर्देशकमा हरि शर्मा छन् ।

सो संस्थाले स्थापनाकालदेखि अहिलेसम्म ४७ करोड ९१ लाखभन्दा बढी रकम प्राप्त गरेको लेखा परीक्षण प्रतिवेदन समेतबाट देखिएको दाबी गर्दै अख्तियारले भनेको छ, ‘यसरी विदेशी दातृ निकायहरुबाट प्राप्त रकममध्ये विगत करिब ५ वर्षमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बाहाले रु. २९ करोड २० लाख रकम खर्च गरेको र सोमध्ये एलाइन्स फर सोसल डाइलगले मात्र १३ करोड रुपैँयाभन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा माथि उल्लेखित ५ वर्ष लगायत अन्य वर्षहरुमा उपरोक्त गैरसरकारी संस्थाहरुले खर्च गरेको रकमको विषयमा समेत छानविन गर्नुपर्ने देखिन्छ ।’

दीक्षितलाई अख्तियारले गिरफ्तार गर्दा उनका पक्षमा उभिएका सुशील प्याकुरेललाई तारो बनाएको छ । प्याकुरेल राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार हुन् । प्याकुरेल अध्यक्ष रहेको डाइलगबारे अख्तियारले ‘बिना दर्ता गैरसरकारी संस्थासरह सञ्चालित एलाइन्स फर सोसल डाइलगको के कुन कानुनी आधारमा समाज कल्याण परिषदले अनुगमन गरेको हो भन्ने पुष्टि हुन नसकेको र दर्ता नै नभएको संस्थालाई सोसल साइन्स बाहाले विगत ५ वर्षमा रु. १३ करोडभन्दा बढी रकम कुन ऐन, नियम र विधान अनुसार दिएको हो, सो समेतको विषयमा छानविन गर्न समेत वाञ्छनीय देखिएकोले समाज कल्याण परिषद ऐन, २०४९ र समाज कल्याण परिषद नियमावली, २०४९ तथा प्रचलित ऐन, नियम अनुसार रकम दुरुपयोग भए नभएको लगायतका विषयमा थप अनुसन्धान तथा छानविन गर्नुपर्ने अवस्था देखिएको’ उल्लेख गरेको छ ।

साथै, एलाइन्स फर सोसल डाइलगका निर्देशक हरि शर्मालाई पनि तारो बनाइएको छ । शर्मा पूर्वराष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार थिए । शर्माले ‘मासिक रुपमा उक्त संस्थाबाट ४ लाख, ६८ हजार ६ सय र तलबभत्ता र सोसल साइन्स बाहाका डाइरेक्टरले १ लाख ५४ हजार ५ सय र मासिक तलब बुझ्नुका साथै निजहरुले आफ्नै संस्थाले सञ्चालन गरेको केही परियोजनाहरुको कन्सल्ट्यान्ट भई परियोजनापिच्छै अलग्गै पारिश्रमिक समेत बुझ्ने गरेको देखिन्छ’ भन्दै अख्यितारले भनेको छ, ‘यसैगरी बोर्ड मिटिङ्ग भत्ता भनी सुशीलराज प्याकुरेललगायत अन्य सदस्यहरुले प्रति बैठक प्रतिव्यक्ति ३१ हजार ८ सय ३९ का दरले भुक्तानी लिएको र गैर नाफामूलक गैरसरकारी संस्थाबाट नाफामूलक संस्थाझैं गरी बोनस समेत लिएको देखिन्छ र यसका साथसाथै उक्त संस्थाको उद्देश्य बमोजिम कार्यक्रमहरुमा रकम खर्च भएको छ भन्ने पुष्टि हुने प्रष्ट र पर्याप्त आधारहरु नभएको र दाताहरुबाट सहयोगस्वरुप प्राप्त रकम सारभूत रुपमा कार्यक्रममा खर्च नगरी नेपाल र नेपाली जनताको नाममा आर्थिक उन्नति, जनचेतना, भ्रष्टाचार निवारण र सुशासन कायम गर्न भन्ने देखाई विभिन्न दातृ संस्थाहरुबाट सहयोगस्वरुप ल्याइएको रकम संस्थामा प्रभुत्व रहेका सीमित व्यक्तिहरुको स्वार्थ र हितमा केन्द्रित रही अनुत्पादक रुपमा तलबभत्ता, विदेश तथा स्वदेश भ्रमण, होटल, पिकनिक, मदिरा सेवन लगायतमा खर्च गरेको देखियो ।’

प्रतिक्रिया दिनुहोस्