पूर्व शिक्षामन्त्री मानन्धर रहेनन्, अन्त्येष्टि शनिबार


१७ असार । पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा मङगलसिद्धि मानन्धरको निधन भएको छ ।

७३ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो । मानन्धरको निधन भएको संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले पनि पुष्टि गरेका छन् । श्रेष्ठले मानन्धरको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नै लेखेका छन् ।

पछिल्लो समय मानन्धर संघीय समाजवादी फोरम नेपालको सल्लाहकार समितिमा आवद्ध थिए ।

काठमाडौंको न्यूरोडमा जन्मिएका मानन्धरले अमेरिकाको यूनिभर्सिटी अफ ओक्लहोमाबाट ‘राजनीतिक भूगोल’ विषयमा सन् १९७३ मा विद्यावारिधी प्राप्त गरेका थिए । नेपाल प्राध्यापक संघको पूर्व अध्यक्ष समेत भइसकेका मानन्धर २०२२ देखि त्रिभूवन विश्वविद्यालयमा प्राध्यापनरत थिए ।

२०५६ सालको संसदीय निर्वाचनमा नेकपा एमालेले उनलाई काठमाडौं क्षेत्र नं.–५ को उम्मेदवार बनाएपछि उनको सक्रिय राजनीति सुरु भएको हो । मंगलसिद्धी मानन्धर त्यस अघि अघि नै एमालेको ९ महिने शासनकाल र एमाले–राप्रपाको सरकार बनेको बेला गरी दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । ०६२–०६३ को ऐतिहासिक जनआन्दोलन पछिको सरकारमा शिक्षा तथा खेलकुद मन्त्री बनेका मानन्धर विघटित संविधान सभामा एमालेको तर्फबाट सभासद् बनेका थिए ।

विघटित संविधानसभाको राज्य पुनः संरचना तथा राज्यशक्ति बाँडफाँड समितिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका मानन्धर पछिल्लो समय एमाले परित्याग गरी सङ्घीय समाजवादी पार्टीमा गएका थिए ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । भारतमा रहेका छोरा आउन समय लाग्ने भएकाले मानन्धरको अन्त्येष्टि शनिबार मात्र गरिने पारिवारिक स्रोतले जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस्