‘पृथ्वीनारायणले जुँगामा ताउ लाएको सालिक राख्नुस्’


२२ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही समयपछि नै एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । चन्द्रागिरी डाँडाको अवलोकन गर्न आज चन्द्रागिरी पुगेका ओलीले यस्तो दाबी गरेका हुन् ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको चन्द्रागिरीमा केबुलकार सञ्चालनमा आएपछि चन्द्रागिरी हिल्स प्रालिले राम्रो काम गरेको भन्दै उनले सरकारका तर्फबाट गर्नसक्ने र आफूले भन्दा हुने सबै सहयोग गर्न तयार रहेको बताए ।

‘नियमित विद्युत् लाइन नभएकाले केबुलकार सञ्चालनमा कठिनाई भएको मैले सुनेँ,’ ओलीले भने– ‘नियमित विद्युत् लाइन व्यवस्था गर्न म सरकारसँग आग्रह गर्छु । उहाँहरुले मान्नु भएन भने ढुक्क हुनुहोस्, केही समय पर्खिनुस्, हाम्रो सरकार बनेपछि सबै काम हुन्छ ।’ ओलीले सरकार कहिले बन्ने भन्नेबारे चाहिँ खुलाएनन् । ओलीले बोल्दा चन्द्रागिरी हिल्सका प्रमुख एवं आईएमइ गु्रपका अध्यक्ष चन्द्र ढकाल पनि सँगै थिए ।

20

प्रचण्डका कुरा सुनेर तिरिमिरी भएँ

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डले तीन अर्ब पर्यटक नेपाल ल्याउने हावादारी कुरा गरेको आरोप लगाए । ‘मैले बाटो चौंडा बनाउँछु, नेपालमा रेल ल्याउँछु भन्दा मेरो कुरा हावादारी भयो भन्ने वर्तमान प्रधानमन्त्रीले तीन अर्ब पर्यटक ल्याउँछु भनेछन्,’ ओलीले भने ‘उहाँका कुरा सुनेर मलाई त तिरिमिरी झ्याइँ भयो ।’

ओलीले जुँगामा ताउ लगाएपछि..

पृथ्वीनारायण शाहले एकीकरण अभियानको सुरुवात गर्नुअघि चन्द्रागिरीमै आएर जुँगामा ताउ लगाएको स्मरण गर्दै ओलीले अध्यक्ष ढकालसँग ‘त्यो ठाउँ कता हो ?’ भनी प्रश्न गरे । ढकालले पनि ओलीलाई शाहले जुँगामा ताउ लगाएको ठाउँसम्म लगे । त्यहाँ पुगेपछि ओलीले पनि काठमाडौंतिरै फर्किएर जुँगामा ताउ लगाए ।
सञ्चारकर्मीहरुले ओलीले ताउ लगाउने बित्तिकै शाहकै जस्तो तपाईँको पनि केही माग्नु छ कि ? प्रश्न गरे । ओलीले सञ्चारकर्मीको प्रश्नको तत्काल जवाफ दिँदै भने– ‘मलाई सबै पूरा छ, केही माग्नु छैन ।’

मन्दिरमा जुत्ता निषेध, वामदेवलाई छुट21

केबुलकार चढेर चन्द्रागिरी पहाड पुगेका ओलीसँगै एमालेका अधिकांश शीर्ष नेता पनि भालेश्वर मन्दिर दर्शन गर्न गएका थिए । मन्दिर प्रवेश गर्नुअघि पनि ओलीले जुँगामा ताउ लगाएका थिए । सुरक्षाकर्मीले ओलीलाई पनि जुत्ता खोल्न लगाए । अरु सबैले जुत्ता खोलेरै मन्दिर प्रवेश गरे । तर, एमाले उपाध्यक्ष वामदेव गौतमलाई भने कसैले पनि जुत्ता खोल्न लगाउने आँट गरेनन् । वामदेव जुत्तासँगै मन्दिर प्रवेश गरे र केही तस्बिरहरु पनि लिए ।

ओलीसँग घुमेनन् खनाल

केबुलकार चढ्ने प्रवेशद्वारमा ओलीभन्दा केही समयअघि पुगेका एमाले पूर्वअध्यक्ष झलनाथ खनाल केबुलकार चढ्नेमा पनि पहिला नै भए । ओलीभन्दा अघि नै भालेश्वर मन्दिर पुगेका खनाल माथि पुगेपछि ओलीसँग घुमफिर गरेनन् । सभाहलमा पनि ओलीभन्दा अलिक पर बसेका खनाललाई सञ्चारकर्मीले बोलाएरै ओलीसँगै राखेका थिए ।

गौतमले पनि लगाए जुँगामा ताउ

229

मन्दिर प्रवेश गर्नुअघि ओलीले गौतमतिर हेर्दै जुँगामा ताउ लगाए । ओलीले गौतमतिर फर्किएर ताउ लगाएपछि गौतमले पनि आफ्ना जुँगामा ताउ लगाउँदै भने– ‘मेरा पनि जुँगा कमरेडका भन्दा कम छैनन् ।’ गौतमले त्यसो भनेपछि ओली मुस्कुराए ।

पाथीभरा खनाललाई, खप्तड रावललाई

अवलोकनका क्रममा एमाले पर्यटन इलाका कमिटीले औपचारिक कार्यक्रम पनि राखेको थियो । कार्यक्रम सञ्चालन गर्ने क्रममा पर्यटन इलाका कमिटीका अध्यक्ष राजेन्द्र सापकोटाले आगामी दिन खप्तड र पाथीभरामा पनि केबुलकार सञ्चालनमा ल्याउनुपर्ने भन्दै त्यसका लागि खप्तडको अगुवाइ एमाले उपाध्यक्ष भीम रावल र पाथीभराको अगुवाइ खनालले गर्नुपर्ने सुझाव दिए । त्यसो भन्दा मञ्चमा बसेका खनाल र रावल दुवै मुस्कुराएका थिए ।

हिँडेर आउन सक्दिनथेँ, बसेर आएँ

ओलीले चन्द्रागिरी पहाडमा रहेको भालेश्वर मन्दिरमा पहिलादेखि नै आउने इच्छा भएको भन्दै इच्छा पूरा गरेकोमा चन्द्र ढकाललाई धन्यवाद दिए । ‘म बिरामी छु, हिँडेर आउने अवस्था थिएन,’ ओलीले भने, ‘बसेरै मन्दिरसम्म आउने व्यवस्था मिलाउनु भयो, धन्यवाद ।’

ढकाललाई ओलीका सुझाव

14212119_10208108135636171_6677590098160813300_n

ओलीले मन्तव्यका क्रममा केबुलकार सञ्चालक ढकाललाई केही सुझाव पनि दिए । ‘सबैभन्दा पहिला यहाँ तपाईंले पृथ्वीनारायण शाहले जुँगामा ताउ लगाउँदै गरेको सालिक राख्नुहोला, त्यसले पर्यटक तान्न सहयोग पुग्छ,’ ओलीले भने, ‘यति धेरै पर्यटक आउँछन् । बस्ने ठाउँ भएनन भने बेलुका कता जानु, २ सयभन्दा बढी बस्ने होटल बनाउनु होला ।’ ओलीले ती होटल पनि सबै समूहलाई आधार मानेर निर्माण गर्न सुझाव दिए ।

चन्द्रजीले प्रस्ताव ल्याउँदा उफ्रिएँ

ओलीले आफू मलेसिया जाँदा ‘ग्यान्तिङ आइसल्याण्ड’ पुगेको र एक जना चिनियाँ नागरिकले यस्तै काम गरेको देखेको स्मरण गरे । ‘म मलेसिया जाँदा ‘ग्यान्तिङ आइसल्याण्ड’ पुगेको थिएँ,’ ओलीले भने, ‘त्यहाँ यस्तै देखेँ । मसँग पैसा थिएन । कसले लगानी गर्ला भनेर सोच्दै थिएँ । चन्द्रजी प्रस्ताव लिएर जानुभयो, म खुसीले बुरुक्क उफ्रिएँ ।’

प्रतिक्रिया दिनुहोस्