पेप्सि कम्पनीले आलुको खेती गरेको भन्दै किसानलाई मुद्धा हाल्यो, प्रत्येकसँग एक करोड क्षतीपूर्ती माग


काठमाडौ, १३ वैशाख । पेय पदार्थ, चिप्स इत्यादि बनाउने बहुराष्ट्रिय कम्पनी पेप्सिकोले गुजरातका चार किसानमाथि मुद्दा ठोकेको छ । पेप्सिकोले ती किसानलाई लेज चिप्स बनाउन प्रयोग हुने आलुको उत्पादन गरेको भन्दै उनीहरुमाथि मुद्दा दर्ता गरेको छ । पेप्सिकोले उक्त आलूको बिउको प्याटेन्ट अधिकार आफूमा मात्र निहित रहेको र सो आलू अरुले उत्पादन गर्दा आफ्नो प्याटेन्ट अधिकारको उल्लंघन भएको दाबी गरेको छ ।

यो मामलामा शुक्रबार अहमदाबाद अदालतमा सुनुवाई छ । पेप्सिकोले प्याटेन्ट अधिकार उल्लंघनको आरोपमा प्रत्येक चार किसानबाट एक–एक करोड भारु बढीको क्षतीपूर्तीको माग गरेको छ ।

उक्त घटनापछि करिब दुईसय कार्यकर्ताले केन्द्र सरकारसँग पेप्सिकोलाई यो ‘झुटो मुद्दा’ फिर्ता लिन आदेश दिनुपर्ने माग गरेका छन् । न्यूज एजेन्सी पिटिआईका अनुसार यी किसानमाथि एफसी–५ प्रजातिको आलु उमारेको र बेचेको आरोपमा मुद्दा दर्ता गरिएको हो । बहुराष्ट्रिय कम्पनी पेप्सिकोको दाबी अनुसार सन् २०१६ मा उसले भारतमा यो आलूको उत्पादनका लागि विशेष अधिकार पाएको थियो ।

यता कार्यकर्ताले भने किसानले कुनै पनि संरक्षित प्रजातिको बीउ रोप्न, उमार्न र बेच्न पूरा अधिकार भएको बताउँदै आएको छ । प्रोटेक्सन अफ प्लान्ट भेराइटिज एण्ड फर्मर्स राइट्स ९पीपीभीएफआर० मा किसानले यो अधिकार पाएका छन् ।

स्वयंसेवी समूह आशा ९अलाइन्स फर सस्टेनबल एण्ड होलिस्टिक एग्रिकल्चर० की कार्यकर्ता कविता कुरुनगतिले भनिन्, ‘किसानलाई संरक्षित किसिमका बिउको उत्पादन र यसको बिक्रीको पूरा अधिकार छ र पेप्सिकोले यो आफ्नो बौद्धिक सम्पदा भएको दाबी गर्न सक्दैन ।’

किसानलाई मुद्दा लड्नका लागि नेशनल जीन फण्डबाट वित्तिय मद्दत उपलब्ध गराउन पनि कार्यकर्ताले माग गरेका छन् ।

किसान संगठनले पेप्सिकोको यस्तो क्रियाकलापले अन्य बहुराष्ट्रिय कम्पनीको पनि मनोबल बढाउने र उनीहरुले यस्ता अन्य मामलामा पनि मुद्दा दर्ता गर्नसक्ने बताएका छन् ।

द हिन्दूका अनुसार जुन किसानविरुद्ध मुद्दा दर्ता गरिएको छ उनीहरु तीन–चार एकड जमिन भएका साना किसान हुन् । पेप्सिकोले एक नीजि जासुसी एजेन्सीको सहारा लिएर केही मानिसहरुलाई सम्भावित विक्रेताको रुपमा उनीहरु भएठाउँ पठाएर गोप्य तरिकाले खेतीको भिडियो बनाएको र आलूको नमूना लिएको किसानले आरोप लगाएका छन् ।

खबरका अनुसार पेप्सिको इन्डियाको याचिकामाथि अहमदाबाद सिटी सिविल कोर्टले यो महिनाको सुरुवातमा शबराकांठाका चार किसान बिपिन पटेल, छबिल पटेल, विनोद पटेल र हरिभाइ पटेललाई २६ अप्रिलसम्म आलूको यो विशेष प्रजातिलाई उमार्न र बिक्री गर्न रोक लगाएको छ ।

अदालतले मामलाको अनुसन्धान गरेर रिपोर्ट तयार गर्नका लागि एक वकिललाई पनि कोर्ट कमिश्नरको रुपमा नियुक्त गरेको छ । उनले स्याम्पल लिएर त्यसलाई विश्लेषणका लागि सरकारी प्रयोगशाला पठाउनु पर्नेछ ।

यसअघि सन् २०१८ मा पनि कम्पनीले अरावली जिल्लाका पाँच किसान प्रभुदास पटेल, भारत पटेल, जितू पटेल, विनोद पटेल र जिगरकुमार पटेलविरुद्ध मुद्दा दर्ता गराएको थियो । यो मामलाको सुनुवाई अहिलेसम्म अरावली जिल्ला अदालतमा चलिरहेको छ ।

यसैबीच भारतमा ह्यासट्याग बोयकट पेप्सी, बोयकट पेप्सीको व्यापक रुपमा ट्रेन्ड भइरहेको छ ।

थुप्रै ट्विटर प्रयोगकर्ताले किसानमाथि पेप्सी कम्पनीको यस्तो आरोपप्रति आपत्ति जनाउँदै कम्पनीविरुद्ध खनिएका छन् ।

डा। योगेश नामबाट ट्वीटरमा लेखिएको छ, ‘पोप्सिकोले बोतलको पानीको व्यापारमा घाटा लागेको भन्दै भारतभरीका मानिसहरुले धाराको पानी पिएकोमा मुद्दा दर्ता गर्न बेर छैन । लाज लाग्दैन पेप्सी । हामी प्रधानमन्त्री र अरुण जेट्लीलाई यस्तो पागलपनविरुद्ध कारवाही गर्न अपिल गर्छौं ।’

चौकिदार किरन सूर्या अमरसेट्टीले लेखेका छन्, ‘दुःखी किसानमाथि यस्तो प्रहार सह्य छैन ।’

यस्तै मान्सी सिंह लेखिन्छन्, ‘बाईबाई पेप्सी इन्डिया, पेप्सिको । हामीलाई हाम्रो किसान र उनीहरुको सफलता चाहिन्छ, तिमीहरुको विष होइन । आफ्नो गुन्टा बाँधेर तत्काल यहाँबाट भाग ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्