पोखरामा हार्ने भएपछि काँग्रेस–माओवादीको यस्तो हर्कत, गणना सुरु गर्न एमालेको दवाव


७ जेठ । पोखरा उपमहानगर पालिकामा आफूले हार्ने निश्चित भएपछि सत्तारुढ दल नेपाली काँग्रेसले विभिन्न बखेडा झिकेपछि अहिले त्यहाँ समस्या भएको छ ।

१ लाख ६८ हजार मतदाता रहेको पोखरा महानगरपालिकामा एमालेका मेयरमा उम्मेदवार मानबहादुर जिसीले निरन्तर अग्रता लिएपछि काँग्रेसले मतगणनामा बखेडा झिकेको थियो । काँग्रेसकै बखेडाका कारण मतगणना रोकिएपछि निर्वाचन कार्यालयले मत गणना सुरु गर्ने निर्णय गरेको थियो । तर, कांग्रेस, माओवादीसहितका दलले निर्वाचन अधिकृतलाई नै घेरा हालेर मतणना अघि बढ्न दिएका छैनन् । उनीरुले आयोगको गणना सुरु गर्ने निर्णय समेत बहिस्कार गरेका छन् ।

काँग्रेसका सांसदे यज्ञवहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसी र उपमेयरका उम्मेदवार सरस्वती गुरुङको नेतृत्वमा निर्वाचन अधिकृत गंगाराम सुवेदीलाई घेरा हालेर निर्वाचन गणना गर्न नदिएको बुझिएको छ । प्रहरी प्रशासनले समेत मतगणना कार्यमा असहयोग गरेको एमालेको आरोप छ ।

वडा नम्बर १८ र १६ कार्यकर्ता मतगणना अघि बढाउन तयार भए पनि उनीहरुलाई समेत नेतृत्वले धम्की दिएको बुझिएको छ । उनीहरुले पुनः निर्वाचनको माग गर्दै आएका छन् । ‘चुनाव हार्ने डरले अहिले साथीहरुले चुनाव बहिष्कारको नाटक गर्नुभएको छ,’ एमालेका एक नेताले भने, ‘उहाँहरुको त्यो हठ हामीलाई मान्य छैन । उहाँहरुले फेरि निर्वाचन गर्नुपर्ने हावादारी कुरा गर्नुभएको छ । त्यो सम्भव छैन ।’

प्रतिक्रिया दिनुहोस्