पोशाकप्रति जनप्रतिनिधिको यस्तो मोह


२५ पुस । अब खोटाङ जिल्लाका जनप्रतिनिधिहरु एउटै पोशाकमा देखिने छन् । खोटाङका सबै स्थानीय तहका सबै जनप्रतिनिधिले एकै खाले पोशाक लगाउने भएका छन् । उनीहरुले पोशाकमा एकरुपता ल्याउने गरी सहमतिसमेत जनाइसकेका छन् ।

पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका छन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

उनले भने, ‘पोशाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइयो । झट्ट हेर्दा नै चिन्न सजिलो होस् भनेर कार्यालय समय र औपचारिक कार्यक्रममा अनिवार्य यस्तो पोशाक लगाउने निर्णय गरिएको हो ।’

पोशाकसँगै सबै जनप्रतिनिधिले लोगोसमेत अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको प्रमुख चाम्लिङले बताए । नेपालको राष्ट्रिय झण्डासहितको खोटाङको नक्सा बनाएर उक्त नक्सालाई दुई हातले माथि उचालेको लोगो बनाउने तयारी गरिएको पनि जनाइएको छ । समन्वय समितिले तोकेको पोशाक र लोगो अनिवार्य गर्न नगरपालिका तथा गाउँपालिकाका वडासम्म परिपत्र गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्