पौडेलका भागमा पाँच मन्त्री, यस्तो छ संभावित मन्त्रीको सूची


१ भदौ । नेविसंघको महाधिवेशन सकिएपछि मात्र पार्टीका तर्फबाट बाँकी मन्त्रीहरूको नाम पठाउने भन्दै बसेको नेपाली कांग्रेसले अब एक दुई दिनभित्रै मन्त्रीको नाम टुंगो लगाउने भएको छ।

आन्तरिक शक्ति सन्तुलनअनुसार भागबन्डामा सहमति भइसकेकाले अब दुई समूहले आ–आफ्ना समूहबाट नाम टुंगो लगाउन बाँकी रहेको बुझिएको छ ।

सत्ता साझेदार माओवादी केन्द्रसँग कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति यसअघि नै गरेको छ । भागमा परेको ती १३ मध्ये पाँच रामचन्द्र पौडेललाइ दिन देउवा राजी भएको बुझिएको छ । पौडेलले पनि कम्तीमा पाँचजना पाउनुपर्ने माग गरेका थिए । देउवाका भागमा परेका आठमध्ये विमलेन्द्र निधि र रमेश लेखक पहिलो चरणमै सरकारमा सहभागी भइसकेका छन् ।

बाँकी ६ मध्ये एक महिला, एक आदिवासी जनजाति र एकजना पिछडिएको क्षेत्रवाट र कम्तीमा एकजना खुमबहादुर खड्कालाई दिने सोचमा देउवा रहेको बुझिएको छ । खड्का समूहबाट शंकर भण्डारीको नाम मन्त्रीका लागि चर्चामा छ । देउवालाई नै बोक्दै आएको कृष्णप्रसाद सिटौला समूहले अहिले दाबी नगर्ने बरू देउवाकै नेतृत्वमा बन्ने सरकारमा भाग खोज्ने बताएको बुझिएको छ ।

पौडेलले पाउने पाँचजनामा पनि उनका आफन्त र आसेपासेले नै घेरेकाले मन्त्री छान्न उनलाई सकस परेको स्रोतले बतायो । स्रोतका अनुसार पौडेलका सम्धी तारिणिदत्त चटौत, गृह जिल्ला तनहुँका रामचन्द्र पोखरेल, कमला पन्तलगायतले मन्त्री बनाउन पर्‍यो भन्दै पौडेललाई दबाब दिएका छन् । बाँकी एकजना प्रकाशमान सिंह र एकजना शशांक कोइरालालाई पनि पौडेलले छुट्ट्याउनुपर्ने छ । सिंहको कोटाबाट बलबहादुर केसी र कोइरालाको कोटाबाट दीपक गिरीको नाम मन्त्रीका लागि चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्