पौडेल पक्ष देउवा विरुद्ध सशक्त उत्रने


काठमाडौँ, २५ वैशाख ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो । ‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बोलाउने तय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ ।’

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए । त्यस अवसरमा महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर छलफलसमेत भएको थियो । पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गर्दा महामन्त्री कोइरालाले भने बैठकमा सहभागी भएरै समर्थन जनाएका थिए ।

‘संसदीय दलको निर्वाचनमा प्रकाशमानलाई मत दिएको भनेपछि हामी विश्वासमा थियौं तर पदाधिकारी बैठकमा सबैले देख्ने गरी समर्थन गरेपछि महामन्त्रीको भूमिकालाई कसरी लिने ?’ बैठकमा सहभागी एक नेताले प्रश्न गरे, ‘महामन्त्री सभापतिकै पक्षमा उभिने हो भने हामी त्यही ढंगले अघि बढ्नुपर्छ ।’बैठकमा सहभागी नेता केसीले सभापति देउवाको कार्यशैली विधान र सहमतिविपरीत भएको बताए । ‘सभापतिले सहमतिविपरीत एकलौटी ढंगले विधान मिचेर पार्टी चलाउने अभ्यास गर्नुभएको छ,’ केसीले भने, ‘यस्तो अवस्थामा हामीले कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका हौं ।’

पार्टीमा गुटगत प्रवृत्ति चर्कियो : आचार्य
कांग्रेस नेता महेश आचार्यले पार्टीभित्र गुटगत प्रवृत्ति र मतभेद चर्किंदै गएको बताएका छन् । पदाधिकारी मनोनयन प्रक्रियाप्रति असहमति जनाउँदै उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी बुझाएको पत्रमा भनेका छन्, ‘तीनै तहको निर्वाचनमा पराजयपछि पार्टीभित्रको एक–एक थोपा शक्ति सञ्चय गरी संगठन पुनर्निर्माणमा लाग्नुपर्ने बेला पार्टीभित्र व्यापक विग्रह र असहमति बढ्न आँटेको देख्दै छु ।’

उनले निर्वाचन परिणामको समीक्षा गर्दा होस् वा पदाधिकारी प्रस्ताव गर्दा होस्, पार्टीभित्र विचार र बहस किनारा लाग्दै गएको बताएका छन् । ‘राज्यका तीनवटै तहमा सत्तारूढ कम्युनिस्टको उग्रता बढ्दै गएका बेला कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा आन्तरिक विग्रह देखिनु देश र लोकतन्त्रका निम्ति शुभसंकेत होइन,’ उनले भनेका छन् ।

देउवाले गत शुक्रबार निर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सहमहामन्त्रीमा महतलाई मनोनयन गरेका थिए । सभापतिको प्रस्तावको विरोध गर्दै वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गरेका थिए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्