प्रचण्डका कारण लम्पसारवादले चरम सीमा नाघ्योः नेता केसी


१ मंसिर । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्ड नेतृत्वको सरकारले तीन महिनाको अवधिमा सिन्कोसमेत भाँच्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘सरकारले ३ महिनामा विकास निर्माणको कार्यमा सिन्कोसमेत भाँचेन । संविधान संशोधन गरेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि भारतले सुनियोजित तरिकाले संविधानमै व्यवस्था गरेर नेपाललाई टुक्र्याउने अभियान चलाएको छ, त्यसलाई पुरा गर्नका लागि प्रचण्डलाई प्रयोग गर्ने काम मात्रै भयो ।’

लामो समयदेखि नेपाली समाज भारतमाथि निर्भर रहँदै आएको बताउँदै केसीले पूर्ववर्ति केपी ओली नेतृत्वको सरकारले कम्तिमा पनि चीनसित व्यापार तथा पारवहन सम्झौता गर्ने निर्णय गरेकोमा प्रशंसा गर्दै भनेका छन्, ‘उत्तरी नाका खोल्ने पूर्ववर्ति सरकारको निर्णय भारतलाई पचेन । त्यस कारण, ओली सरकार हटाउन भारत तत्पर भएको हो ।’ बुधबार साप्ताहिकसितको कुराकानीमा केसीले भनेका छन्, ‘अंगिकृत नागरिकता वितरण गर्ने र त्यस्ता नागरिकताधारीहरुलाई राष्ट्रप्रमुख, सरकार प्रमुखलगायतको संवैधानिक निकायमा आसिन गराउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउन अति नै आवश्यक थियो । साथै, संविधान संशोधन गरेर तराईका समथर भूभागलाई पहाडबाट अलग गराउने भारतीय विस्तारवादको जुन उद्देश्य थियो, त्यो उद्देश्य पूरा गर्नको लागि प्रचण्ड नेतृत्वको सरकार बनाएकोमा दुईमत देखिँदैन ।’

पूर्ववर्ति सरकार विघटन गराउने बेलामा तत्कालीन सरकारले भूकम्प पीडितलाई केही गर्न सकेन, म भूकम्प पीडितलाई पर्याप्त राहत दिन्छु भनेको कुरा उल्लेख गर्दै केसीले भनेका छन्, ‘३ महिनामा के के काम भयो ? त्यो जगजाहेर नै छ । साथै, वर्तमान सरकारलाई समर्थन गरेका मधेसका पार्टीहरुको मागअनुरुप मधेसको समस्या समाधान गर्छु भनिएको थियो । त्यो भनेको के हो भने हिमाल र पहाडबाट तराईलाई अलग गर्ने संशोधन प्रस्ताव काँग्रेसबाट होइन प्रचण्डद्वारा राख्न लगाएर र काँग्रेस एवं मधेसी मोर्चाबाट त्यसको समर्थन गराएर नेपाललाई कालान्तरमा सिक्किम बनाउने उद्देश्यले प्रचण्डलाई प्रधानमन्त्री बनाइएको थियो ।’ केसीले अगाडि भनेका छन्, ‘भारतलाई के पनि थाहा छ भने २००७ सालपछि नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, सार्वभौमिकता र अखण्डताको पक्षमा सबैभन्दा अग्रपंक्तिमा उभिएर लड्ने नेपालका वामपन्थी शक्तिहरु नै हुन् । तसर्थ, काँग्रेस र मधेसी मोर्चाबाट भन्दा वामपन्थी भनिएको प्रचण्डकै हातबाट यो काम गराउन पाएपछि नेपालको कम्युनिष्ट आन्दोलनलाई नराम्रो कलंक लगाउन सकिने सोच भारतले राखेको देखिन्छ । काँग्रेसको हातबाट त उनीहरुले लिनुपर्ने जति लिइसके । कोसी, गण्डकी, महाकाली नदीहरु क्रमशः लिए । त्यसैले अब वामपन्थीको हातबाट बाँकी रहेको नेपालको सार्वभौमसत्ता, अखण्डतामाथि खेलबाड गर्ने उद्देश्यले प्रचण्डलाई भारतले अगाडि सारिएको हो ।’

प्रचण्डलाई अगाडि सारेर भारतले आफ्नो उद्देश्य पूरा ग¥यो भने देशको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुने बताउँदै नेता केसीले भनेका छन्, ‘नेपाली जनताले पनि बुझ्छन् उनीहरुको सुरुङ युद्धको उद्देश्य के थियो ? उनीहरुको १० वर्षे कथित जनयुद्धको उद्देश्य के थियो ? तसर्थ, भारतले जुन उद्देश्यका लागि ओली सरकारलाई हटाएर प्रचण्डलाई अगाडि सा¥यो, त्यो उद्देश्य पूरा भयो भने नेपालको अस्तित्व नै समाप्त हुन्छ ।’

प्रधानमन्त्रीले ३ महिनाको अवधिमा मेलम्ची खानेपानीको निरीक्षण गरेको, अपर तामाकोसीको निरीक्षण गरेको र कर्मचारीहरुलाई काम छिटो गर्न निर्देशन दिएकोबाहेक उल्लेख काम नगरेको पनि केसीले बताएका छन् । ‘जनताले कति सुशासन पाए ? महँगीमा कति घट्यो ? भ्रष्ट्राचारमा के कति कमि आयो ? यो पो समीक्षाको विषय हो ।’ केसीले भनेका छन् ।

नेता केसीले दाबी गरेका छन्, ‘विकास निर्माण गर्न, भ्रष्ट्राचार कम गर्न र मुलुकलाई सुशासन दिनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाएकै होइन भारतले । भारतको आलंकारिक राष्ट्रपति आएर पनि सबैलाई मान्य हुने संविधान बनाउनुहोस् भने । यो भारत सरकारको नीति नै हो । नेपाली जनताले त ती राष्ट्रप्रमुखलाई नजिकबाट देख्न नै पाएनन् । झण्डै कफ्यु लागेजस्तै थियो । स्वयम् प्रचण्डजी पिएसओ जस्तो भएर राष्ट्रपतिसँगै हिँडे ।’

काठमाडौंमा भारतीय राष्ट्रपति आउँदा डोटी, हुम्ला, जुम्लातिर छुट्टी दिने कुराको आलोचना गर्दै केसीले भनेका छन्, ‘यी सबै घटनाक्रमहरु हेर्दा लम्पसारवाद चरम सीमासम्मै पुगेको देखिन्छ । त्यति धेरै ठूला–ठूला कुरा गरेर, सुरुङ युद्ध गरेर भारतीय विस्तारवाद विरुद्धमा क्रान्ति गरेका भन्नेहरु अहिले गएर जुन ढंगले लम्पसार परे, त्यो एकदमै लज्जाजनक कुरा हो । त्यही पार्टीभित्र बस्नेले पनि कसरी टुलुटुलु हेरेर बस्न सकेका होलान् ? यो आश्चर्यजक विषय हो ।’

भारतीय शासकहरुले २०७३ सालको वैशाखमै ओली सरकार विघटन गर्ने योजना बनाएको र त्यसका निम्ति बैशाखमै वर्तमान अर्थमन्त्री दिल्ली गएको स्मरण गर्दै केसीले भनेका छन्, ‘शेरबहादुर पनि भारत पुगेका थिए त्यतिबेला । तसर्थ, हामीले नेपालमा कुनै सरकार आएर विकास निर्माणमा ध्यान दियो कि दिएन भनेर हेर्ने भन्दा पनि उनीहरु विदेशीको कठपुतली भएर देशको राष्ट्रियता, सावैभौमिकता र अखण्डतामा सौदाबाजी गरेर कसरी मुलुकलाई अफ्ठ्यारो स्थितिमा पु¥याएका छन्, नेपाली जनताको स्वाभिमानलाई कसरी बन्धकीमा राखेर आफ्नो कुर्सीलाई बलियो बनाउन लागिराखेका छन्, हामीले मूल्याङ्कन गर्ने कुरा यो हो ।’

प्रतिक्रिया दिनुहोस्