प्रचण्डको अस्ट्रेलिया भ्रमण रद्द, ‘डर’ त होइन !


असार ८ । नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अन्तिम क्षणमा आएर अस्ट्रेलिया भ्रमण रद्द गरेपछि अनेकथरी आशंका उठेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नजान गरेको अनुरोध र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटको प्रचार भए पनि उनी नजानुमा द्वन्द्वकालीन डरले काम गरेको अनुमान गरिएको छ ।

 विश्वस्त स्रोतका अनुसार, नेपालका अदालतमा दाहालका विरुद्धमा प्रशस्तै द्वन्द्वकालीन मुद्दा विचाराधीन रहेको, सत्य निरुपण तथा मेलमिलाप आयोगमा समेत उजुरी परेको अवस्थालाई विचार गरेर उच्चस्तरबाट उनलाई अस्ट्रेलिया नजान सुझाव प्राप्त भएको थियो ।

द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघन, हत्या, अपहरण जस्ता जघन्य मुद्दा अहिलेसम्म किनारा नलाग्दा माओवादी नेताहरुमाथि अन्तर्राष्ट्रिय न्यायिक क्षेत्रले निगरानी गरिरहेको छ । नेपाली सेनाका कर्णेल कुमार लामा दुई वर्षअघि बेलायतमा पक्राउ परेयता माओवादीका कुनै पनि उच्चस्तरका नेता युरोप–अमेरिकाको भ्रमण गएका छैनन् ।

तीन महिनाअघि जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्मेलनमा भारतले नेपालमा ‘गैरन्यायिक हत्यामा संलग्नहरुमाथि कारवाही नभएको’ भन्दै द्वन्द्वकालीन न्यायको प्रश्नलाई विधिवत् रुपमा उठाएपछि परिस्थिति थप जटिल बनेको यस क्षेत्र सम्बद्धहरुको बुझाइ छ ।

दाहालले पार्टीसम्बद्ध प्रवासीहरुको कार्यक्रममा भाग लिन जाने कार्यक्रम एक महिनाअघि नै तय भएको थियो । अस्ट्रेलियामा गैरआवासीय नेपाली संघका साथै अरु पार्टीसम्बन्ध संगठनहरुले पनि दाहालसँग भेटघाट गर्ने गरी तयारी भइरहेको थियो ।

विरामी वर्षमान अन्तिममा रोकिएका थिए

Barsha-Man-Pun

तीन महिनाअघि शिकिस्त विरामी परेका माओवादी नेता वर्षमान पुनलाई अमेरिका लैजाने तयारी थियो । यसका लागि उनकी श्रीमती सभामुख ओनसरी घर्तीले यस सम्बन्धमा नेपालस्थित अमेरिकी राजदूत एलाइना तेप्लिजलाई निवासमै बोलाएर कुराकानी पनि गरिसकेको थिइन् ।

अमेरिकी प्रवेषाज्ञा (भिसा) का लागि औंठाको छापा (फ्रिन्गर प्रिन्ट) अनिवार्य हुने तर जटिल अवस्थामा रहेका कारण पुन अमेरिकी दूताबासमा जान नसक्ने बारेमा सभामुख घर्तीले अमेरिकी राजदूत तेप्लिजलाई जानकारी गराएकी थिइन् । लगत्तै राजदूत तेप्लिजले औँठा छाप लिनका लागि मेसिनसहित दूतबासका कर्मचारी सभामुख निवासमै पठाइदिने बचन दिएकी थिइन् ।

तर अन्तिम अवस्थामा उनलाई अमेरिका नलैजाने निर्णय गरियो र दिल्ली लगियो । यसमा पनि दण्डहीनताविरुद्धको विश्वव्यापी कार्यक्षेत्रको प्रश्न आएकाले निर्णय परिवर्तन गरिएको चर्चा पश्चिमा कुटनीतिक बृत्तमा चलेको थियो ।

काभ्रे जिल्ला अदालतमा मुद्दा खेपिरहेका माओवादी नेता अग्निप्रसाद सापकोटा र धनुषामा एस्पी हुँदा निशस्त्र माओवादी कार्यकर्ताको हत्या गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई चाहिँ यहीँबाट दूताबासले नजान सल्लाह दिएका कारण उनीहरुको भ्रमण रोकिएको थियो ।

के भन्छन् मानवअधिकारवादी ?

यस सम्बन्धमा प्रतिक्रिया माग्दा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले भने, ‘हाम्रो घरेलु कानुन अन्तर्राष्ट्रिय कानुन अनुरुप नभएको अवस्थामा नेपाल यातनाविरुद्धको अन्तर्राष्ट्रिय कानुनको पक्षराष्ट्र भएकोले उक्त कानुनका कुनै पनि पक्षराष्ट्रले यातनासम्बन्धी मामिलामा जो कोही नेपाली नागरिक उपर अन्तर्राष्ट्रिय क्षेत्राधिकार प्रयोग गरेर उनीहरुको देशमा कारवाही प्रक्रिया अगाडि बढाउन सक्छन् । त्यो हामीले कर्णेल कुमार लामाको मामिलामा भोगिरहेको राष्ट्रिय बेइज्जती हो ।’

प्रतिक्रिया दिनुहोस्