प्रचण्डको एकल निर्णयबाट माओवादीमा तीब्र असन्तुष्टी


काठमाडौं । एमाओवादी हेडक्वाटर बैठकमा नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डसमक्ष आत्मालोचना गर्नुपर्ने प्रस्ताव राखेपछि उनी अप्ठेरोमा परेका छन् । स्रोतका अनुसार, हेडक्वाटर सदस्यसमेत रहेका पोखरलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अध्यक्ष प्रचण्डको निर्णय गलत भएको भन्दै त्यसमा आत्मलोचना गर्नुपर्ने प्रस्ताव राख्दा बैठकमा अर्कै वातावरण बनेको छ ।

हेडक्वार्टर बैठक जारी रहे पनि उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भने चलेको छैन । माओवादीका तर्फबाट एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सहभागी अधिकांश मन्त्रीले अध्यक्ष दाहालको कदमप्रति असन्तुष्टी जनाएका छन् भने त्यसबेला सरकार बाहिरै रहेका माओवादी केन्द्रका दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठ, डिआर पौडेललगायतका नेताले त प्रचण्डको कदमको खुलेरै विरोध गरेका छन् । स्रोतका अनुसार, आइतबार बसेको हेडक्वाटरको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक संगठनको विषयमा मात्र छलफल गर्न चाहेका थिए ।

तर बरिष्ठ नेता श्रेष्ठले सरकारबाट बाहिरिएर अविश्वासको प्रस्ताव दर्ता गराएको कदममाथि छलफल चलाउनुपर्ने मत राखेका थिए । श्रेष्ठको भनाइमा ओली सरकारमा मन्त्री रहेका र ३५ सदस्यीय हेडक्वार्टरमा समेत रहेकामध्ये टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले समर्थन गरेका थिए भने हरिवोल गजुरेल र अग्नि सापकोटा मौन बसेका थिए । यद्यपि, अध्यक्ष प्रचण्डको यो कदमप्रति सापकोटा पनि भित्री रुपमा खुसी छैनन् । तर, उनले असन्ुतष्टी बाहिर प्रकट गरेका छैनन् । ओली सरकारमा रायमाझी उपप्रधान तथा ऊर्जा, पोखरेल शिक्षा र बस्नेत गृहमन्त्री थिए भने गजुरेल कृषि र सापकोटा बनमन्त्री थिए । उक्त सरकारमा आपूर्तिमन्त्री रहेका गणेशमान पुन, सामान्य प्रशासन मन्त्री रहेकी रेखा शर्मा र सिचाइँमन्त्री रहेका उमेश यादव पनि यो गठवन्धन भत्काउने प्रचण्डको निर्णयप्रति खुसी नरहेको स्रोतको दावी छ । पछिल्लो समयमा पार्टी एकिकरण गरेर आएका नेताहरु रामबहादुर थापा, पम्फा भुसाल लगायतको टीम पनि प्रचण्डले आफूहरुसँग कुनै सल्लाह नगरेकाले खुसी छैन ।

अध्यक्ष प्रचण्डलाइ यो निर्णय गराउने तहसम्म पुर्याउने कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माबाहेक तत्कालीन एमाओवादीका अरु नेता पनि यो निर्णप्रति सन्तुष्ट छैनन् । तर, यसको विरोधमा बोल्ने हिम्मत पनि गर्न सकेका छैनन् । अरु त अरु बैठकमा अध्यक्ष प्रचण्डले आत्मलोचना गर्नुपर्ने प्रस्ताव राख्ने पोखरेलले समेत यस विषयमा सार्वजानिक रुपमा नबोलने बताएका छन् ।

त्यसो त एक हप्ताअघि बसेको हेडक्वार्टर बैठकमै नेता श्रेष्ठले ओली सरकार कायम राख्नु पर्नेबारे पाँच तर्क प्रस्तुत गरेका थिए । त्यसमा प्रगतिशिील बजेट, वामपन्थी एकता, चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण, बहुमतीय फोहोरी खेललगायतका कुरा समावेश गरेका थिए ।

सरकारबाट वाहिररिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने जस्तो महत्वपुर्ण निर्णय गर्दा समेत पार्टीको बैठक नबसी प्रचण्डले एकलौटी निर्णय गरेर गलत गरेको भन्दै आइतबारको हेडक्वाटर बैठकमा श्रेष्ठले पुनः कुरा राखेका थिए । तर, केही सदस्यले पहिला सबै निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने अनि पछि एकलौटी निर्णय गर्यो भन्ने ? भन्दै प्रचण्डको बचाउ गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्