प्रचण्डको भाबुकताको वर्णन हजार जिब्रा भएका शेष नागले पनि गर्न सक्दैनन्ः प्रदीप ज्ञवाली


१ साउन । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धन नाटकीय, रहस्यपूर्ण र संविधान कार्यान्वयनलाई दूरगामी प्रभाव पार्ने षडयन्त्र भएको भनी आलोचना गरेका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको नियमित अन्तरसम्वाद कार्यक्रममा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादीबीचको गठबन्धन तोडेर राती सुतेका बेला छूरा हान्ने काम गरेको समेत आरोप लगाए ।

‘प्रचण्ड भावुक व्यक्ति हुन्, उनको भावुकताको वर्णन गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्दैन,’ स्वस्थानीको कथाको प्रसङ्ग जोड्दै ज्ञवालीले भने, ‘यो प्रचण्डले कुनै आावेग र उत्तेजनामा आएर गरेको निर्णय होइन । पूर्व निर्धारित योजना अनुसार नै गठबन्धन तोड्ने काम भएको हो ।’

पात्र र परिवेश फरक घटना उही

ज्ञवालीले कार्यक्रममा बोल्दै करिब २१ वर्ष अघिको घटनाको स्मरण गरे । ‘पात्र र परिवेश फेरिए पनि घटना ०५१ सालको जस्तै हो,’ उनले भने, ‘त्यति बेला नेकपा (एमाले) नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपछि कांग्रेसले आठ हजार फिट माथि उडेको हेलिकोप्टरबाट खसेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई राम्ररी आरम समेत गर्न नदिई कांग्रेसले सरकार ढाल्ने खेल खेलेको थियो ।

अहिले पनि त्यसैको श्रृंखला हो ।’ उनले वर्तमान सरकारले अलोकप्रिय काम गर्यो भनेर नभई लोकप्रिय काम गरेपछि आत्तिएर कांग्रेसले सरकार ढाल्ने खेल खेलेको र प्रचण्ड पनि त्यतै लहैलहैमा लागेको आरोप लगाए ।

एमालेले संसद् विघटन गर्दैन

कार्यक्रममा बोल्दै ज्ञवालीले प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने अधिकार सुरक्षित रहे पनि त्यो काम नगर्ने स्पष्ट पारे । ‘अहिले एमाले संसद् विघटन गर्ने खेलमा लागेको छ भनेर हल्ला गरिएको छ,’ उनले भने, ‘म त्यो हल्ला गर्ने साथीहरुलाई भन्न चाहन्छु, त्यो अघिकार प्रधानमन्त्रीसँग छ । तर, एमाले संसद् विघटन गरेर जनप्रतिनिधि विहीनताको अवस्था आउन दिने पक्षमा छैन ।’ उनले कांग्रेस–माओवादी विगतमा त्यो खेलमा लागेकाले त्यहि झल्को आएकाले शंका गरेको आरोप लगाए । संसद्ले गर्ने निर्णय मान्न तयार छौँ ।

पछिल्लो समय कांग्रे–माओवादीले निरन्तर एमालेका तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई अल्पमतमा परेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन दबाब दिएको भन्दै संसदबाटै सामना गर्ने दाबी गरे । ‘हामीलाई संसद्ले गर्ने निर्णय मञ्जुर छ,’ उनले भने, ‘सरकारमा रहेको दल हट्ने वित्तिकै सरकार अल्पमतमा पर्दैन । त्यो निर्णय गर्ने थलो संसद् हो हामी त्यसको मात्र निर्णय स्वीकार गर्छौ ।’

उनले संसद् कुनै तारे होटल नभएको भन्दै संसद् बाहेक अरु निर्णय एमालेले स्वीकार नगर्ने दाबी गरे । ‘हामी विभिन्न संवैधानिक अल्झन ल्याएर सरकार लम्ब्याउने खेलमा छैनौँ,’ उनले भने, ‘हामीले जे निर्णय लिएका छौँ, त्यसको न्यायिक फैसला संसद्ले मात्रै गर्छ ।’

सभामुखले गल्ति गर्नु भो

‘सभामुखको कुर्सी व्यक्ति होइन,’ उनले भने, ‘तर सभामुखले सम्माननीय कुर्सीको पनि अपमान गरेर व्यक्तिगत निर्णय गर्नुभएको छ । त्यो एमालेलाई स्वीकार्य छैन ।’ सभामुखले दोहो¥याएर गल्ती गरेको भन्दै अब हरेक गल्तीलाई एमालेले माफी दिन नसक्ने बताए ।  ‘उहाँले यस अघि नै सरकार ढाल्ने योजना आफ्नै सरकारी निवासमा राखेर बनाउनुभयो । उहाँको त्यो पहिलो गल्ती थियो,’ उनले भने, ‘फेरि उहाँले एमाओवादी र कांग्रेसको निर्णयलाई मानेर दोस्रो गल्ती गर्नुभएको छ ।’ ज्ञवालीले सरकारी विजनेसलाई ‘वाइपास’ गरेर पार्टी निर्णयलाई अघि बढाउने कामले सभामुलाई विवादमा ल्याउने दाबी पनि गरे ।

प्रचण्डले नै नगरौँ भने पछि हस्ताक्षर भएन

ज्ञवालीले अहिले माओवादीले भद्र सहमतिका नाममा चलाएका हल्ला सबै गलत भएको दाबी गरे । ‘बालुवाटारमा नीति, कार्यक्रम र बजेटपछि केपी ओलीज्युले सरकार छाड्ने र प्रचण्डले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा छलफल भएकै हो,’ उनले भने, ‘तर, त्यहाँ प्रधानमन्त्रीले म्यादी प्रधानमन्त्री खान्न भन्दै हस्ताक्षर गर्न नमानेपछि तीन बुँदेमा हस्ताक्षर भएन ।’ पछि प्रचण्डले नै ‘प्रधानमन्त्रीजीले मान्नुहुन्न भन्दा–भन्दै साथीहरुले हस्ताक्षर ल्याएछन्’ भन्दै त्यसैबेला तीनबुँदेको अन्त्य गरेको दाबी ज्ञवालीले गरे । ‘त्यसबेला केही हाम्रै साथीहरुले प्रधानमन्त्रीले हस्ताक्षर नगरेपछि यसको जिम्मा हामी ल्याउला भनेको हुनसक्छ,’ उनले भने त्यसैलाई आधार मानेर हल्ला गर्न पाइन्छ ?’

सरकार अल्पमतमा पर्यो भनेर नलेख्नु होला

ज्ञवालीले सरकार अल्पमतमा परेको हल्ला सञ्चार माध्ययमकै साथीहरुले चलाएको भन्दै अब समाचार लेख्दा सरकार अल्पमतमा पर्यो भनेर नलेख्न सुझाव दिए । ‘एउटा दल बाहिर गएको हो,’ उनले भने, ‘सरकार अल्पमत वा बहुमतमा पर्ने निर्णय सञ्चार माध्ययमले होइन, संसदले गर्छ ।’

प्रतिक्रिया दिनुहोस्