प्रचण्डको भारत भ्रमणबारे एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डलले ध्यानाकर्षण गर्ने


२५ भदौ । नेकपा (एमाले) स्थायी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालय, धुम्बराहीमा बसेको बैठकले प्रचण्डको भारत भ्रमणबारे छलफल गरेको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक परिस्थिति र पार्टीको संगठनात्मक कामका बारेमा पनि छलफल भएको थियो ।

‘प्रचण्डको भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुहरुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले आगामी असोज ५–७ मा आयोजना हुने केन्द्रीय कमिटीको बैठकका विषयवस्तुहरुका बारेमा पनि छलफल गरेको छ ।
‘उक्त बैठकका लागि अध्यक्षद्वारा विकसित राजनीतिक परिस्थिति र पार्टीका कार्यभार सम्बन्धमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने, पार्टीका आगामी कार्ययोजनाहरु तय गर्ने, नेपालको संविधान अनुरुप पार्टीको संगठनात्मक संरचनाको पुनव्र्यवस्थापन गर्नेलगायतका विषयहरु निश्चित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थायी समितिको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजनको पुनर्संयोजन, प्रदेश संगठन कमिटीको नामावलीलाई अन्तिम टुंगो पार्टी प्रवेश र त्यसको व्यवस्थापन, सल्लाहकार परिषद्मा सदस्यहरुको मनोनयन तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन, स्थानीय तहको पुनःसंरचनालगायतका विषयमा छलफल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्