प्रचण्डको भ्रमण नेपाली जनताको भावना विपरीतः ओली


३ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड नेपाली जनताको भावना विपरीत भारत भ्रमण गरेर फर्किएको बताएका छन् । संविधान जारी भएको वर्ष दिन पुगेको अवसरमा नेकपा (एमाले) काठमाडौं जिल्ला संगठन कमिटीले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।

करिब दस हजारको सहभागी रहेको उक्त कार्यक्रममा बोल्दै ओलीले भने–‘नेपालको संविधानप्रति भारतले तयार पारेको धारणामा प्रधानमन्त्रीले ल्याप्चे ठोकेर फर्किनुभएको छ । यो आपत्तिजनक छ ।’

सो कार्यक्रममा एमालेका अधिकांश वक्ताहरुले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतम, स्थायी समिति सदस्यहरु सत्यनारायण मण्डल, काशीनाथ अधिकारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्