प्रचण्डजी भारतमा सिँगडा खान मात्रै जानुभएको होः एमाले अध्यक्ष ओली


३० भदौ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औचित्यहिन रहेको बताएका छन् । बिहीबार एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुको एमाले प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री प्रचण्डजी आजबाट छिमेकी मुलुक भारतको भ्रमणमा जाँदै हुनुहुन्छ,’ ओलीले भने ‘उहाँ भारत भ्रमणमा जानुको के औचित्य छ ? नेपाली जनता कसैलाई पनि थाहा छैन ।’

ओलीले प्रचण्डको भारत भ्रमणप्रति व्यङ्ग्य गर्दै भने– ‘उहाँ भारत सिँगडा (समोसा) खान जानुभएको होला । उहाँ किन जाँदै हुनुहुन्छ ? थाहा हुनुप¥यो नि ?’ ओलीले प्रधानमन्त्री प्रचण्डको तत्कालै भारत भ्रमणमा जाने कुनै एजेण्डा नभएको भन्दै सिँगडा खान मात्रै गएको आरोप लगाए– ‘उहाँ सिँगडा खान मात्रै जानुभएको हो । खाएर फर्किनुुहन्छ ।’

कांग्रेस–माओवादी अरुका मतियार

ओलीले कांग्रेस–माओवादी गठबन्धन अरुको इच्छा पूरा गर्न मात्र भएको पनि बताए । ‘देशको हितमा, राष्ट्रको पक्षमा काम गरिरहेको सरकारलाई उहाँहरुले अरुको इच्छाका लागि ढालिदिनुभयो,’ ओलीले भने– ‘सबैभन्दा ठूलो कांग्रेस–माओवादीको अपराध यही हो ।’ ओलीले एमाले अहिले पनि सहमतिको पक्षमा रहेको भन्दै अरुको इच्छा पूरा गर्नका लागि राष्ट्रहित विपरीत काम नगर्ने दाबी गरे ।

विशेष दूत पठाउन किन हतार ?

ओलीले प्रचण्ड प्रधानमन्त्री बन्नेलगत्तै छिमेकी मुलुक भारत र चीनमा विशेष दूत पठाएको बारे आलोचना गरे । ‘उनी प्रधानमन्त्री बन्ने बित्तिकै किन चीन र भारतमा विशेष दूत पठाउने हतार भयो ?’ ओलीले भने– ‘मैले बुझेको छैन ।’

हेप्नुको पनि हद हुन्छ नि ?

ओलीले तथाकथित मधेसवादी दलहरुले देश नै मर्ज गर्ने खालका प्रस्ताव अघि सारेको भन्दै त्यस्ता माग एमालेलाई मान्य नहुने चेतावनी दिए । ‘भारतबाट विवाह गर्ने बित्तिकै सांसद मन्त्री बन्न त हामीले दिएकै छौ नि,’ ओलीले भने ‘अब त सीमानाबाट यता पठाउने बित्तिकै राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानसेनापति बन्नुपर्ने भयो रे ? हेप्नुको पनि हद हुन्छ नि ?’

ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई पार्टीले नयाँ हुँ भन्ने वतावारण बन्न नदिन निर्देशन पनि दिए । कांग्रेस–माओवादी, राप्रपालगायतका दल परित्याग गरी करिब पाँच दर्जनले एमालेमा प्रवेश गरेको ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सेनाले जानकारी दिए । तस्बिर सौजन्यः चेतन अधिकारी 

प्रतिक्रिया दिनुहोस्