प्रचण्डलाई एमाले मुख्यालयबाट ओलीको चुनौती, ‘हामीलाई प्रतिपक्षबाट हटाउने तागत छ ?’


१८ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तागत छ भने प्रमुख प्रतिपक्षबाट हटाएर अर्कैलाई राख्न चुनौती दिएका छन् । नेकपा (एमाले) मेची–महाकाली राष्ट्रिय अभियान’ बारे जानकारी दिन बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् ।

राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान संविधानको कार्यान्वयनः एमालेको अभियान भन्ने नारासहित मेचीबाट सुरु हुने अभियानबारे जानकारी दिदैँ ओलीले भने, ‘प्रतिपक्षीमाथि निषेधको राजनीति कहिलेसम्म गर्नुहुन्छ ? सार्वजनिक लेखा समितिको सभापति समेत आफैले लिएर सरकारले प्रतिपक्षीमाथि निशेषधको राजनीति गर्नुभएको छ । प्रतिपक्षमा एमालेलाई किन राखिरहनु हन्छ ? तागत छ भने प्रतिपक्षबाट हामीलाई हटाएर अर्कैलाई राख्नुस् ।’

प्रधानमन्त्री प्रचण्डप्रति निकै आक्रमक बनेका ओलीले संयमित भएर बोल्न आग्रह पनि समेत गरे । ‘मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले हुने हो,’ उनले भने । एमालेले वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साएको उनले आरोप लगाए ।  ‘एमालेले राष्ट्रवादको कुरा उठाइरहँदा प्रधानमन्त्री दाहालले वाइसीएलका कार्यकर्तालाई उत्तेजित पार्ने काम गरेका छन्,’ उनले भने, ‘एमाले मुठभेडको अवस्थामा छैन ।’

ओलीले कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरुले मिलेर नै चुनाव टार्ने नियत बनाएको पनि आरो लगाए । ‘म कुटे जस्तो गर्छु, तँ रोय जस्तो गर् भन्ने ढंगबाट उनीहरु अघि बढेका छन्,’ ओलीले भने, ‘यस्तो तमासाको कुनै काम छैन ।’ एमालेले फागुन २१ गतेदेखि २ हप्ते मेचिमहाकाली अभियानको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्