प्रचण्डलाई ओलीको खरो जवाफ– ‘समर्थन गर्न लायक कतै भेटियो भने समर्थन गरौँला’


१० वैशाख । स्थानीय निर्वाचन दुई चरणमा गर्ने घोषणपछि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निजी निवास पुगेका छन् । उनले भेटमा ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

तर, ओलीले भने आफूहरुसँग सहमति नगरी गरेको घोषणालाई अहिले नै मान्ने वा नमान्ने प्रतिक्रिया दिन नसकिने बताए । उनले ‘हामी हेर्छौं, अध्ययन गर्छौं । समर्थन गर्न लायक कतै भेटियो भने समर्थन गर्छौं,’ प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँग ओलीले भने, ‘देशलाई गम्भीररुपमा अहितै गर्न खोजिएको र संविधान कार्यान्वयन गर्नुपर्ने ठाउँमा संविधानै भाँचकुच गर्न खोजिएको पाइयो भने त्यसमा हामी रोक्छौँ ।’

उनले मौखिकरुपमा सुनेर होइन कागजपत्र हेरेर प्रतिक्रिया दिने पनि जानकारी दिए । पहिलाको संविधान संशोधन प्रस्ताव गलत भएकाले एमालेले विरोध गरेको स्मरण गर्दै ओलीले भनेण् अलि समय जिद्दी गर्नु भो । पछि गलतै रहेछ, यो हामी फिर्ता लिन्छौं भन्नुभो । फिर्ता लिएर राम्रै गर्नुभो । अब अहिले कस्तो ल्याएको छ, हेर्नुपर्छ ।’

उनले एमाले चुनावको पक्षमा रहेको पनि स्पष्ट पारे । ‘तर, जेठ १५ गते बजेट जारी गरेर हप्ता वा १५ दिनपछि गरिने चुनावमा भने समर्थन गर्न नसकिने उनले दाबी गरे ।

उनले एमाले हीन ग्रन्थीबाट नचल्ने भन्दै देशको हितका निम्ति, देशको हितको पक्षमा दृढताका साथ उभिने दाबी गरे । उनले माकुराको जालोमा झिँगामात्रै पर्छ भन्दै एमाले जथाभावी नलतारिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्